पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङको छ्यारछ्यारेमा १ सय दुई रोपनी जमिनमा खेलमैदान निर्माण भएको छ । म्याग्दी खोलाको नजिकै रहेको क्षेत्रलाई खेलमैदानका रुपमा बहुउपयोगी बनाउने गरी गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा खेलकुद मैदान निर्माण गरिएको हो ।
चालु आर्थिक वर्ष २०७५÷७६ मा १५ लाख र मालिका गाउँपालिकाको १५ लाख रुपैयाँको लगानीमा खेलकुद मैदानको निर्माणकार्य सुरु गरिएको मालिका–६, दरबाङका वडा अध्यक्ष सन्तनाथ जैसीले बताए । खेलकुद मैदानलाई क्षेत्रीयस्तरको बनाउने प्रयासमा रहेकाले गाउँपालिकास्तरका खेलहरु यही सञ्चालन गरिने उनले बताएका छन् । अध्यक्ष जैसीका अनुसार जनप्रिय माध्यमिक विद्यालयको खेलमैदानसँगै म्याग्दी नदीको छेउमै अवस्थित खेलमैदानलाई आवश्यकता अनुसार पूर्वाधार विस्तार गर्नुपर्ने हुन्छ ।
तत्कालीन समयमा वि.सं. २०४५ साल असोज महिनामा पहिरोले निस्कोट तथा छ्यारछ्यारेमा १ सय जनाको हाराहारीमा ज्यान गुमाएकाको सम्झना समेत हुने भएकाले खेलमैदान निर्माण अभियानमा सहयोग गर्न अनुरोध गरिएको छ । लामो समयसम्म वृक्षारोपण गर्दा समेत त्यस ठाउँमा कुनै पनि विरुवा हुर्कन नसकेपछि खेलमैदानसहित गाउँपालिकाको दिर्घकालीन योजनाहरुलाई केन्द्रीत गरी पूर्वाधार विस्तारको कार्यलाई प्राथमिकता दिइएको छ ।
म्याग्दी नदीको छेउमै अवस्थित मैदानलाई घेराबारसहित भौतिक पूर्वाधार निर्माणका लागि कति खर्च लाग्ने भनेर डिपिआर तयार गरेपछि गाउँपालिकाले प्रदेश र संघीय सरकारसँग योजना माग गर्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । एकैपटक धेरै खेलहरु खेल्न र खेलाउन सकिने गरी पूर्वाधारहरु बनाउने समेत योजना रहेको उनले जानकारी दिएका छन् । मैदानको लम्बाई १ सय ७० र चौडाई १ सय २५ मिटर रहेको छ । मैदानमा फुटबल, भलिबल क्रिकेट ग्राण्ड, एथ्लेटिक्स ट्¥याक, प्याराफिटसहितको व्यवस्थित भवन लगायतका अन्य खेलमैदान निर्माण गरिने गाउँपालिकाले बताएको छ । व्यवस्थित बहुउपयोगी खेलमैदानका साथै खेलमैदान आसपासका क्षेत्रमा मालिका गाउँपालिकाको कार्यालय, बसपार्क, हरियाली पार्कसहित गाउँपालिकाका विभिन्न पूर्वाधारहरुलाई पनि प्राथमिकता दिएको जनाइएको छ ।