म्याग्दीको बेनी नगरपालिकाको सोमबार सम्पन्न पाँचौं नगरसभाले झण्डै ५३ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ समृद्ध बेनी नगरपालिकाको आधार’ भन्ने मूल नारासहित आयोजित नगरसभाबाट उक्त बजेट पारित गरिएको हो ।
गत शनिबार आयोजित पाँचौं नगरसभामा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले प्रस्तुत गरेको आगामी आवको कुल ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँ बराबरको आयव्यय अनुमानसहितको वार्षिक बजेट सोमबारको नगरसभाले संशोधनसहित पारित गरेको छ । पारित भएको बजेटमध्ये आन्तरिक आयतर्फ तीन करोड तीनलाख, वित्तीय समानिकरण अनुदान १३ करोड ३६ लाख, सशर्त अनुदान २४ करोड ९९ लाख, राजस्व बाँडफाँड नौ करोड १७ लाख तीनहजार, सडक बोर्डतर्फ ४० लाख र चालु वर्षमा खर्च हुन नसकेर बाँकी रहने दुई करोड रुपैयाँ बजेटको स्रोतमा अनुमान गरिएको छ ।
यसैगरी कृषि, पशुपंक्षी, पर्यटन उद्योग, सहकारी तथा वित्तीय क्षेत्रलाई समेट्दै आर्थिक विकासतर्फ एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ शिक्षामा ९९ लाख, खानेपानीतर्फ ३८ लाख, स्वास्थ्यतर्फ ३४ लाख, महिला, बालबालिका, ज्येष्ठनागरिक र अपाङ्गतातर्फ २४ लाख, लक्षित समूहतर्फ ११ लाख, धर्म संस्कृतितर्फ तीनलाख, खेलकुदतर्फ १६ लाखसहित दुई करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख बरुवालले बताएकी छिन् । त्यस्तै पूर्वाधारतर्फ सडक स्तरोन्नतिको कार्यलाई ध्यान दिँदै छ करोड १६ लाख ९८ हजार बजेट विनियोजन भएको छ । वन वातावरण तथा विपद व्यवस्थापनमा ५० लाख, सुशासन तथा संस्थागत विकासमा ७५ लाख, सबै वडालाई समेट्ने गरी छ करोड १० लाख र कर्मचारी तथा प्रशासनिक खर्च हुने चालुतर्फ सात करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिइन् ।
सोमबार भएको नगरसभामा नगर उपप्रमुख बरुवालले प्रस्तुत गरेको आर्थिक र विनियोजन विद्येयकतर्फका शीर्षकहरुमा वडा सदस्यहरुले आ–आफ्नो धारणा र सुझावहरु राखेका थिए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले दुई वर्षको अवधिमा नगरलाई आवश्यक पर्ने ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड लगायतका कानुनहरु निर्माण गरिएको बताएका छन् । उनले बेनी नगरवासी जनताहरुको आवश्यकता र चाहनालाई प्राथमिकता दिनुका साथै विकास निर्माणका कार्यलाई ध्यानमा राखेर बजेट बनाइएको हुँदा कार्यान्वयनका लागि सबै आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए ।
यसअघि पारित गरिएको नीति तथा कार्यक्रममा नगरको नीति, कार्यक्रमलाई प्रदेश र केन्द्रसम्म तादाम्यता मिलाइने, आर्थिक समृद्धिका क्षेत्रलाई प्राथमिकता दिइने, नगरपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्म पुग्ने सडकको स्तरोन्नति गर्ने, नगर विकास योजनाहरुलाई निजी, सहकारी, सार्वजनिक र साझेदारीमा सम्पन्न हुनेगरी बजेटको व्यवस्था गर्ने, नदीखोला ताल तथा जलाधार संरक्षण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने, कृषि एवं पशुपालनलाई व्यावसायिकरण गर्ने, ‘एक वडा, एक युवा क्लब एक खेलमैदान’ कार्यक्रममार्फत युवा तथा बालबालिकाको क्षमता विकास गर्ने नीतिहरु अघि सारिएको छ ।
Previous Article‘पारमाणविक भट्टी सञ्चालन गर्नु गम्भीर र संवेदनशील’
Next Article समयमै होस साग