पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा बिहीबारदेखि बाबियाचौरमा सेनेटरी प्याड निर्माणसम्बन्धी तालिम सुरु भएको छ । महिलाहरुमा महिनावारी हुँदा प्रयोग गरिने स्वच्छ र सफा प्याड बनाउनका लागि सेनेटरी प्याड निर्माणको तालिम सञ्चालन गरिएको हो ।
तालिमको मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए । तालिम उद्घाटनसत्रमा बोल्दै गाउँपालिकाका प्रवक्ता एवं मंगला–२, का वडा अध्यक्ष धनबहादुर खातीले गाउँपालिकामार्फत महिलाहरुलाई लक्षित गरेर विभिन्न तालिम तथा कार्यक्रमहरु सञ्चालन गरिएको बताए । उनले महिलाको आयआर्जन हुने खालका तालिमहरु दिइएको हुँदा तालिम अनुसार अगाडि बढ्न सुझाव दिएका छन् ।
मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले महिनावारी हुँदाको समय अत्यन्तै संवेदनशिल र जोखिम रहेको बताउँदै यस्तो अवस्थामा सरसफाई, खानपान र रहनसहनमा विशेष ध्यान दिन आग्रह गरेकी छिन् । तालिममा मिलन म्याग्दीका सूचना, सञ्चार, अभिलेख तथा प्रकाशन विभागका सदस्य सुमित्रा थजालीले महिनावारी हुँदा अपनाउनुपर्ने सुरक्षा, सरसफाई, खानपान, महिनावारीको अवस्था, महिला र पुरुषको शारिरीक बनावट लगायतका विभिन्न विषयहरुमा प्रशिक्षणात्मक मन्तव्य राखेकी थिइन् ।
गाउँपालिकाको ५ ओटै वडाका २५ जना महिला र किशोरीहरु सहभागी रहेको सेनेटरी प्याड निर्माण तालिमको प्रशिक्षक रामदेवी पुन तथा सहयोगी बिमला कार्कीले सहजीकरण गरिहेका छन् । वडाध्यक्ष खातीको अध्यक्षता र सुआहाराका फिल्ड सुपरभाइजर भीमकुमारी बुढाथोकीको सञ्चालनमा सम्पन्न तालिममा पालिकास्तरीय जनजाति सञ्जालका कोषाध्यक्ष हिरा शेरपुन्जाले स्वागत गरेकी थिइन् ।