राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गरेको छ । कार्यालयले यस वर्षदेखि पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार गत चैत १० गतेदेखि २१ गतेसम्म साधारण तथा प्राविधिक धारतर्फ सञ्चालन गरेको एसइई परीक्षाको नतिजा सानोठिमीले बिहीबार ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो ।
यस वर्षको परीक्षामा नियमित समूहको साधारणतर्फ ४ लाख ४९ हजार ६४२ र प्राविधिक धारतर्फको ९ हजार ६३३ जना गरी कुल ४ लाख ५९ हजार २७५ परीक्षार्थी सहभागी भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ १६ हजार ८८२ विद्यार्थीले जीपीए ३.६० देखि ४ (ए प्लस), ४८ हजार ९६० विद्यार्थीले जीपीए ३.२० देखि ३.६० (ए), ६० हजार ७०६ जना विद्यार्थीले जीपीए २.८० देखि ३.२० (बी प्लस), ९४ हजार ११० विद्यार्थीले जीपीए २.४० देखि २.८० (बी), ९७ हजार २९९ विद्यार्थीले जीपीए २.०० देखि २.४० (सी प्लस), ९५ हजार २०९ विद्यार्थीले १.६० देखि २.०० (सी) ल्याउन सफल भएका छन् ।
यसैगरी ४३ हजार ८४० विद्यार्थीले १.२० देखि १.६० (डी प्लस), ४ हजार ४२९ विद्यार्थीले ०.८० देखि १.२० (डी) ल्याएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताउँदै ८ हजार २०७ विद्यार्थी विभिन्न कारणले नतिजा सार्वजनिक नभएको जानकारी दिए । यता प्राविधिक धारतर्फ ६९८ विद्यार्थीले ‘ए प्लस’, २ हजार १७७ विद्यार्थीले ‘ए’, ३ हजार ३५ विद्यार्थीले ‘बी प्लस’, २ हजार ४५४ विद्यार्थीले ‘बी’, ९०८ विद्यार्थीले ‘सी प्लस’, ९८ विद्यार्थीले ‘सी’, १ विद्यार्थीले ‘डी प्लस’ ल्याउन सफल भएका छन् ।
प्राविधिक धारतर्फ २६२ परीक्षार्थीको परीक्षा सार्वजनिक गरिएको छैन । परीक्षा नियन्त्रकका अनुसार साधारण र प्राविधिकतर्फ ४ लाख ७५ हजार ३ परीक्षार्थीले आवेदन दिए पनि परीक्षामा ४ लाख ५९ हजार २७५ परीक्षार्थीहरु सहभागी भएका थिए । नियमित र प्राविधिकतर्फ गरी कुल ८ हजार ४६९ परीक्षार्थीको नतिजा सार्वजनिक नगरिएको उनले बताए । त्यस्तै परीक्षाको मर्यादाविपरीत कार्य गर्ने १ जना र गलत विवरण भरी आवेदन दिने १ जना गरी कूल २ जना परीक्षार्थीको सबै विषय र ४८ जनाको विषय रद्द गरी कुल ५० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
कसरी हेर्ने नतिजा ?
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर www.neb.gov.np, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर www.see.gov.np, नेपाल टेलिकम www.see.ntc.net.np, एनसेल www.ncell.axiata.com, एजाइल एडुकेशन, www.merostudy.com, ईडीयु सञ्जाल www.see.edusanjal.com मा गएर नतिजा हेर्न सकिन्छ । यस्तै, एसएमएसबाट SEE लेखेर एउटा स्पेस दिई आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ । त्यसैगरी चभकगतिक लेखेर स्पेस दिने र आफ्नो सिम्बोल नम्बर लेखेर ३५००१ मा पठाउन पनि सकिन्छ ।
Previous Articleमेयरको जिद्दीलाइ अदालतले लगायो पूर्णबिराम
Next Article मंगलामा सेनेटरी प्याड निर्माणको तालिम सुरु