पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट, नीति तथा कार्यक्रम ल्याएको हो ।
सोमबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न सातौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सातलाख ९२ हजार छ सय र पुँजीगततर्फ ११ करोड ९५ लाख ९९ हजार रुपैयाँ गरी कुल ३५ करोड तीनलाख ९१ हजार छ सय रुपैयाँको बजेट प्रस्तुत गरिन् । संघीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, चालु आर्थिक वर्षमा खर्च हुन बाँकी र आन्तरिक आम्दानीलाई स्रोत मानेर बजेट ल्याइएको छ । मंगलाले सडक, कृषि, पर्यटन, शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम बनाएको छ ।
बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान सात करोड ७३ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँडबाट पाँच करोड ९७ लाख, सशर्त अनुदान १३ करोड ८७ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान एक करोड २१ लाख १२ हजार, प्रदेश राजश्व बाँडफाँड २८ लाख १० हजार, आन्तरिक राजस्वबाट प्राप्त हुने ५० लाख र सामाजिक सुरक्षाभत्ता चार करोड ३५ लाख ६९ हजार छ सय र चालु आवको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित एक करोड ३० लाखलाई स्रोत अनुमान गरिएको छ ।
बजेट अघि गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँसभाले पारित गरेको थियो । बजेटमा गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा र गाउँवस्ती जोड्ने सडकलाई स्तरोन्नति गरी वातावरणमैत्री बनाउने र नियमित यातायात सेवा सञ्चालन गर्ने उद्देश्य राखिएको छ । सडक स्तरोन्नतिका लागि तीन करोड ९६ लाख ५० हजार, विद्यालय र सामुदायिक भवनका लागि ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको मंगलाले एक घर एक धाराको अवधारणा अनुसार खानेपानी सुबिधा विस्तार गर्ने लक्ष्य राखेको छ ।
खानेपानी तथा सिँचाई आयोजनालाई ६० लाख ५० हजार रुपैयाँ र कृषि तथा पशुपालनमा एक करोड २६ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । बाबियाचौरमा ढल निकासका लागि २५ लाख, विपद् पीडितलाई राहत र जटिल रोगबाट थलिएकालाई सहायताका लागि १६ लाख, तालिम तथा क्षमता विकासका लागि ४० लाख, शुन्य दरबन्दीका सामुदायिक विद्यालयलाई लागत सहभागितामा आधारित अनुदानका लागि ३२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।
सामुदायिक विद्यालयको सिकाई उपलब्धि वृद्धिका लागि प्रविधिको प्रयोग, वडा अध्यक्षसँग शिक्षा, गाउँपालिका अध्यक्षसँग ज्येष्ठ, विपन्न नागरिक वस्तुगत सहायता सहयोग, महिलासँग उपाध्यक्ष कार्यक्रम, पोषण सुधार कार्यक्रम सञ्चालन गर्ने नीति लिएको मंगलाले संग्रहालय बनाउने जनाएको छ । रोजगारी सिर्जना र आयआर्जन सुधारका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । विपन्नको स्वास्थ्य बिमा, कामदारको सामूहिक बिमा, झाँक्रीपानी, टोड्के र चाँङ्गामा चियाखेती गर्ने, प्रदेश र संघीय सरकारसँगको समन्वयमा पर्यटनसम्बन्धी कार्यक्रम गरिने भएको छ ।