म्याग्दी जिल्लामा बालविवाह निकै जटिल समस्याको रूपमा रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा आयोजित कार्यक्रममा बताइएको छ ।
इन्सेक जिल्ला कार्यालय म्याग्दीको आयोजनामा बेनीमा आयोजित मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तथा मानव अधिकार अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले म्याग्दी जिल्लामा बालविवाहको समस्याको रूपमा रहेको बताएका हुन् ।
उनले जिल्लाको ग्रामीण भेगमा बालविवाह गर्ने जोडी धेरै भएको र अब त्यसलाई रोक्नका लागि धार्मिक स्थलहरूमा हुने विवाह कार्यक्रममा कडाइ गर्ने र स्थानीय तहले कडा तवरले निगरानी गर्नु पर्ने बताएका छन् ।
नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले जनप्रतिनिधिहरू नै बालविवाह भएका घटनाहरूलाई मिलाउनतर्फ लाग्ने गरेको स्थानियहरूको आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सई चेतनाथ चापागाईले बालविवाहको घटना धेरै भएको भए पनि अहिलेसम्म एक मात्र उजुरी आएको बताए ।
उनले प्रहरीमा आएका सबै प्रकारका उजुरीहरू कानुन र मानव अधिकारको मार्गमा रहेरै समाधान हुने गरेको बताए ।
कार्यक्रममा इन्सेक प्रतिनिधि अमृत बास्कुनेले सार्वजनिक सम्पत्ति तोडफोडको एक, गिरफ्तार एक, जातीय विभेदको एक, बलात्कार घटनाका तीन, यौन दुव्र्यवहार घटनाका दुई, बालविवाहको एक तथा घरेलु हिंसाका नौ ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।