उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक नीति तथा कार्यक्रममार्फत पुँजीगततर्फ ११ करोड ५८ लाख ३१ हजार र चालुतर्फ १९ करोड ८३ लाख गरी कुल ३१ करोड ४१ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ । बिहीबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित गाउँसभामा सो बराबरको बजेट प्रस्तुत गरिएको हो ।
गाउँसभाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले हरेक जनताको घरदैलोमा विभिन्न कार्यक्रम र बजेटमार्फत पुग्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए । गाउँसभामा प्रस्तुत बजेट नीति तथा कार्यक्रममार्फत कृषि, पर्यटन, जलविद्युत, रोजगार तथा विकासका योजनालाई प्राथमिकता दिएको बजेटले विगतमा टुक्रे योजनाले जनताको आवश्यकतालाई समाधान नगरेको भन्दै एक वडा १ गौरवको योजना, पाँचलाख भन्दा माथिका योजनाहरूलाई प्राथमिकता, एक घर एक महिला रोजगार कार्यक्रम, सबै वडाका महिलाहरूको तथ्याङ्क सङ्कलन गरी क्षमता अनुसारको रोजगारी दिने, महिला सशक्तिकरणका साथै उद्यमशिलताको विकास गर्न उपाध्यक्षसँग महिला कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ ।
यसैगरी युवालाई उत्पादन र सिपमूखी बनाउन गाउँपालिका भित्रका ३ वटा स्थानमा तालिम केन्द्र सञ्चालन र बाँझो खेतमा उत्पादनलाई जोड दिइएको छ । महिलालाई आत्मनिर्भर बनाउन वडा, गाउँ टोलमा सिप विकास तालिम, वडास्तरमा युवाहरूलाई सामाजिक तथा उत्पादनमूखी क्षेत्रमा सक्रिय बनाउन अध्यक्षसँग युवा कार्यक्रम, टुक्रे योजनाले विकासको नाममा फैलिएको बिकृतिलाई हटाउँदै एक वडा एक गौरवको योजना सञ्चालन, असारे विकासलाई अन्त्य गदैं आगामी आव २०७६÷७७ को श्रावण महिनाबाटै सम्झौता, गौरवको योजनालाई आवश्यकता अनुसार मेसिनरी उपकरणको प्रयोग र ठेक्का प्रक्रियालाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष भण्डारीले बताएका छन् ।
विपद्को जोखिममा रहेका वडामा एकीकृत सामूहिक बस्ती, सुकुम्वासीलाई घर, विपन्नको खरको छाना विस्थापितलगायत जनताका आवश्यकता अनुसारका योजनाहरु समेटिएको छ । त्यस्तै गाउँपालिका अध्यक्षसँग युवा र उपाध्यक्षसँग महिला कार्यक्रम, सामाजिक सुरक्षा भत्ताबाहेक पनि युवाहरूलाई केन्द्रित गरी रोजगारमूलक योजनाहरू नीति तथा कार्यक्रममा समेट्ने प्रयास गरिएको छ । गाउँपालिका भित्रका विभिन्न पर्यटकीयस्थलमा पूर्वाधार तथा हरेक वर्ष गाउँपालिकास्तरीय पर्यटन महोत्सवलाई जोड दिइएको छ । गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।
गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाको बजेट सम्बोधन र वडा नं ६ पाखापानीका अध्यक्ष मनकुमार शेरपुञ्जाले वाचन गरेका थिए । यसैबीच आगामी असार २० गतेसम्मलाई गाउँसभा स्थगित गरिएको छ । गाउँसभाको अध्यक्षता अध्यक्ष भण्डारी र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले गरेका थिए । यही असार १० गतेसम्म बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेपनि म्याग्दीका अन्य गाउँपालिकाले बजेट प्रस्तुतको तयारीलाई तिव्रता दिएको अवस्थामा बेनी नगरपालिकामा भने नगर प्रमुख र कार्यपालिका सदस्यबीचको विवादका कारण नगरसभा अनिश्चित हुनुका साथै बजेट ल्याउने कुनै सुरसार नै देखिएको छैन ।