म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित चिप्लेटीमा रहेको डिम्ब आधारभूत विद्यालयमा बिहीबार विद्यालय भवनको शिलान्यास भएको छ । प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सांसद विकास कोष र विद्यालय क्षेत्र विकास कोष बेनी नगरपालिकाबाट विनियोजित रकमबाट बन्न लागेको नयाँ भवनको शिलान्यास गरिएको हो ।
सांसद विकास कोषबाट १० लाख रुपैयाँ र नगरपालिकामार्फत १६ लाख रुपैयाँको सहयोगमा बन्दै गरेको ३ कोठे पक्की भूकम्पप्रतिरोधी भवनको औपचारिक रुपमा शिलान्यास गरिएको विद्यालयले जनाएको छ । चालु आर्थिक वर्षभित्रै सक्नुपर्ने विद्यालय भवन निर्माणको काम उपभोक्ता समितिमार्फत आवश्यक निर्माणकार्य अगाडि बढाइएको छ ।
विद्यालय भवनको शिलान्यास गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै विद्यालयहरुको शैक्षिक प्रगतिका साथै भौतिक संरचना निर्माणमा जोड दिएको बताइन् । उनले विद्यालयमा भौतिक संरचना निर्माणका साथसाथै समुदायले पनि विद्यालयको विकासमा ध्यान दिनुपर्ने भन्दै अपनत्व समेत लिनुपर्ने बताएकी छिन् ।
बेनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बद्लिँदो परिस्थितिसँगै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै सबै बालबालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउनुपर्ने बताए । बेनपा–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँले विद्यालयको आवश्यक भौतिक संरचना विस्तारका लागि वडा कार्यालयमार्फत पनि आगामी दिनमा निरन्तर सहयोग उपलब्ध गराइने बताएका छन् ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा म्याग्दीका क्रियाशिल पत्रकार प्रताप बानियाँले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर खत्रीको अध्यक्षता, पूर्व प्रअ एवं सल्लाहकार संयोजक गणेशबहादुर कार्कीको स्वागत र विद्यालयका प्रधानाध्यापक नारायण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
बाल शिक्षासहित कुल ३९ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयमा शिक्षक दरबन्दी ३, निजी १ र कार्यालय सहयोगी एकजना कार्यरत रहेका छन् । विद्यालयलाई विभिन्न समयमा सरोकारवाला व्यक्ति, भूतपूर्व विद्यार्थी र चन्दादाताहरुले नगदका साथै जिन्सी सामानहरु सहयोग गर्दै आइरहेका छन् ।
Previous Articleबेनी नगरपालिकाबाट सञ्चालित विकासका योजनाहरुको स्थलगत अनुगमन
Next Article रुप्से दैनिक ! ०९ जेठ २०७६