म्याग्दीको मंगला गाउँपालिका–४, बराङ्जा गाउँमा परम्परागत रुपमा लगाइने धुले मेला यसवर्ष पनि हुने भएको छ । धुले मेला संरक्षण समितिद्वारा यही जेठको तेस्रो सातादेखि विविध सांस्कृतिक तथा खेलकुदका कार्यक्रमहरुसहित बराङ्जामा धुले मेला आयोजना गरिएको हो ।
आउँदो जेठ १४ गते मङ्गलबारदेखि हुन गैरहेको धुले मेलाको विषयमा बिहीबार म्याग्दी सदरमुकाम बेनीबजारमा मेला आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । धुले मेलाको पहिलो दिन पितृ चढाउने, दोस्रो दिन प¥याङ हाल्ने र तेस्रो दिन होरे खेलेर धुले पर्व मनाउने पुरानो चलन रहेको खेलकुद संयोजक योगेन्द्रमान शेरचनले जनाएका छन् । यसरी धुले मेला मनाएपछि मगर समुदायका पितृ खुशी हुने किम्बदन्ती समेत रहेको छ ।
बराङ्जाका घर्ती, रोका, बुढाथोकी र पुन मगर समुदायका ५४ घरधुरीले मात्रै मनाउँदै आइरहेको धुले मेलामा सबै समुदायलाई सहभागी बनाइने बताइएको छ । तीन दिनसम्म परम्परागत रुपमा मनाइने धुले मेला मनाएर सकेपछि अन्य सांस्कृतिक र खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिने खेलकुद संयोजक शेरचनको भनाइ छ । धुले मेलालाई बराङ्जाको प्रमुख मेलाका रुपमा मान्ने गरिएको छ । धुले मेला सबै समुदायको मेलाका रुपमा मनाइने जनाइएको छ ।
यसैगरी सांस्कृतिक कार्यक्रमतर्फ खुल्ला लोकदोहोरीगीत प्रतियोगिता आयोजना गरिएको छ । एक–एक जना केटा र केटीका बिचमा प्रतिस्पर्धा हुने दोहोरीमा सहभागी कलाकारलाई खाना, बस्न र नामदर्ता निःशुल्क गरिएको लोकदोहोरीगीत प्रतियोगिता तथा बाद्यवादन समितिका संयोजक कुलदिप जुग्जालीले बताए । उनका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद एकलाख र द्वितीयलाई ५० हजार रुपैयाँ रहेको छ । कार्यक्रमको अवसरमा ‘घर त मुदी गाउँ, छेउछेउमा बसेर चोखो माया लाउँ’ बोलको गीत गाउने पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–४, मुदी माइत भई हाल मुस्ताङ घर भएकी ७० वर्षीया धनकुमारी गौचनको विशेष प्रस्तुती रहने संयोजक जुग्जालीले जानकारी दिए ।
त्यस्तै खेलकुद अन्तर्गत पुरुष भलिबलतर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीयलाई ३५ हजार, महिला भलिबलतर्फ क्रमशः ३५ हजार र १५ हजार रुपैयाँ पुरस्कार राशी रहेको धुले मेला संरक्षण समितिका अध्यक्ष अर्जुन रोकाले बताएका छन् । मेलामा आयोजित बास्केटबलतर्फ प्रथम ५० हजार र द्वितीयलाई २५ हजार रुपैयाँ पुरस्कार रहेको छ । मेलाको मूल संयोजकमा युके निवासी हर्कराज रोका रहेका छन् ।
धुले मेलाको मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । धुले मेला तथा विविध सांस्कृतिक एवं खेलकुद मेलाको कुल २२ खर्च लाग्ने अनुमान गरिएको छ । दोहोरीमा विशेष गरी नयाँ पुस्ताका कलाकारलाई प्रोत्साहन गरिने संयोजक जुग्जालीले बताए । धुले मेलासँगै विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आवश्यक तयारी अगाडि बढाइएको छ ।