पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा नजिकै रहेको ‘लभ्लीहिल’ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरामा रहेको पुरानो नाम ‘खाराको डाँडो’ अहिले लभ्लीहिलका रुपमा चिनिएको हो ।
बेनीबजारदेखि झण्डै आधा घण्टाको पैदल दुरीमा पुग्न सकिने रमणीयस्थल लभ्लीहिलमा अहिले दिनहुँजसो आन्तरिक पर्यटकको घुइँचो देख्न सकिन्छ । कालीगण्डकी र म्याग्दीखोलाको दोभानको बिचमा रहेको सुन्दर बेनीबजार र आसपासका रमणीयस्थलको अवलोकन गर्न पर्यटकहरु उक्त डाँडामा पुग्ने गर्दछन् । सिरसिर चल्ने हावासँगै मनमोहक दृष्यलाई सेल्फीमार्फत कैद गर्ने युवायुवतीहरु लालयित हुन्छन् ।
लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा सितलताको खोजीमा मानिसहरु आउने गरेको बेनी नगरपालिका–२, ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए । लभ्लीहिलको डाँडामा आन्तरिक पर्यटकहरु बढिरहेको हुँदा यसलाई मध्यनजर गरेर विकासका पूर्वाधार निर्माणमा जोड दिइएको उनले बताएका छन् । हाल उक्त स्थानमा पदमार्ग निर्माणका लागि बेनी नगरपालिका, प्रवासी नेपालीहरुको संस्था मोना म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघले क्रमशः ५०, ४० र १० प्रतिशत लागत बेहोर्ने गरी त्रि–पक्षीय साझेदारीमा ‘बेनी–मोना–लभ्लीहिल पदमार्ग’ निर्माण भैरहेको वडा अध्यक्ष थापाले जानकारी दिए ।
यसैगरी लभ्लीहिल क्षेत्रमा चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय म्याग्दीको १२ लाख रुपैयाँको सहयोगमा हरियाली पार्क बनाउने काम समेत भैरहेको छ । लभ्लीहिलमा आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको थियो । तत्कालीन समयमा कुल १२ लाखको लागतमा लभ्लीहिलमा गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च लगायतका पूर्वाधारहरुको निर्माण गरेसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य पुलहाश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरु देख्न सकिन्छ । म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित धौलागिरि, अन्नपूर्ण हिमालका साथै सूर्योदय र सुर्यास्तको समेत अवलोकन गर्न सकिन्छ । पूर्वाधार निर्माणसँगै पछिल्लो समय पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास हुँदै गएको बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालको भनाइ छ ।
प्रकृतिप्रेमी जो कोहीका लागि पनि लभ्लीहिल असाध्यै आर्कषक रहेको स्थानीयवासिन्दा बताउँछन् । लभ्लीहिलले बेनीको आन्तरिक पर्यटन प्रवद्र्धनमा निकै सहयोग पु¥याएको हुँदा लभ्लीहिलको विकासका लागि थप पूर्वाधारको विकास गर्नुपर्ने जरुरी देखिएको छ । त्रि–पक्षीय सम्झौताबाट अगाडि बढेको पदमार्गको निर्माणकार्य भने ढिलासुस्ती भैरहेको छ । म्याग्दी जिल्लालाई तत्कालीन स्व. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीबाट गएको वर्ष वैशाख ३० गते ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ घोषणा गरिएको थियो ।
Previous Articleविभिन्न ६ उत्कृष्ट पुरस्कार वृहत कार्यक्रमका विच प्रदान !
Next Article नेकपा म्याग्दीका जिल्ला सदस्यहरुले लिए शपथ