मधुवन पौडेल
हितेश रेस्टुराँबाट निस्केदेखि नै मेरो मन खिन्न भइरह्यो । मलाई केही खाने इच्छा पनि भएन, तैपनि छोरी–ज्वाईंको मन राख्न अलिकति खाएर हामी घर फक्र्यौं । हितेशको बाबु डाक्टर सदानन्द मिश्र मेरा सहपाठी थिए । उनी लामो समयसम्म क्यान्सरविरुद्ध लड्दै थिए, २ वर्षअघि दिवंगगत भए । उनको छोरो हितेश मेरो विद्यार्थी हो ।
बित्नुभन्दा पहिले उनी सधैँ भन्ने गर्थे– मास्टरबाबु, तपाईंको मेहनतले नै आज हितेश राम्रो भएको हो, नत्र यस्तो पहाडे ठाउँमा आएर जागिरको लामो जीवन बिताउनुपरेकोमा मलाई यति सन्तोष कहाँ हुन्थ्यो र ! हितेशको मेहनतलाई पनि मान्नैपर्छ, हेर्नोस् । ८ वर्ष भइसक्दा पनि ऊ पढाइ बिग्रला भनेर घर आएको छैन ।’
सुरुसुरुमा त म पत्याउने गर्थें हितेश पढाइमा नै व्यस्त होला भनेर । तर, जब उसले बाबुलाई क्यान्सर भएको थाहा पाएर पनि अमेरिका छाडेर नआएपछि मेरो मनमा साँच्चै चिसो पसिसकेको थियो । सदानन्द डाक्टरले मर्ने बेलामा पनि उसकै गुणगान गाएका थिए, एक्लो छोराले आफ्नो वास्ता नगरेकोमा उनलाई कुनै चिन्ता थिएन ।
डाक्टर सदानन्द हाम्रो जिल्लाको सदरमुकाममा धेरै वर्ष बसे । तर, हितेशचाहिँ कक्षा ६ मा पुगेपछि मात्र बाबुसँगै मधेसबाट पहाड उक्लेको थियो । उसकी आमा वर्षको २–४ पटक आउने गर्थिन् । मधेसमा चाहिँ उनले माइतीको मद्दत लिएर सदानन्दको पुख्र्यौली घरजग्गा धानेर बसेकी थिइन् । लामो समय लोग्नेबाट अलग्गै बसिरहेकोले सदानन्दको अकाल मृत्युले उनको आफ्नो जीवनक्रमलाई त्यति असर परेजस्तो पनि लाग्दैनथ्यो । हामीले हेर्दा त्यस्तै देखिन्थ्यो ।
मेरा छोरी–ज्वाईंले अमेरिका बोलाएकाले २ महिनाको छुट्टी लिएर म यसपाला पहिलोपल्ट अमेरिका छिरेको थिएँ । जीवनभर मास्टरी पेशामा बसेकाले विदेशको नाममा भारतबाहिर गएको थिइनँ म ! अमेरिका पहिलोपल्ट पुगेकाले होला, केही दिन त बूढाबूढी अलमलमै परियो । गाडी नभई नहुने र कतिपय ठाउँमा त पैदल हिँड्ने सुविधा पनि छैन रे ! कति उदेकलाग्दो !
घुमघामकै क्रममा आज ज्वाईंले कर गरेर बाहिरै खाना खाएर जाने भनेर एउटा रेस्टुराँमा लैजाँदा हितेशसँग भेट भएको थियो । मलाई ऊ त्यही ठाउँमा छ भन्ने लागेको बिल्कुलै थिएन । एक्कासी पल्लो टेबुलमा साथीहरूको भीडमा उसलाई देखेँ, उसको अनुहार खासै फेरिएको थिएन । अलि दुब्लो, पहिलेजस्तै साँवलो र चटपटे ! दस वर्षअघि अमेरिका आए पनि हाम्रो जिल्लाबाट त ऊ त्यसको दुई वर्षअगाडि नै हिँडिसकेकोले एकैपल्ट ठम्याउन गाह्रो भएको पनि हो । मेरी छोरी अनन्ताले पनि उसलाई झट्ट हेर्दा चिनिन । एकैपल्ट देख्दा चिन्ने हो कि नचिन्ने हो भन्ने अन्योल भए पनि म उठेर उसको टेबुलमा पुगेँ ।
‘मलाई चिन्यौ ? हितेश होइन तिमी ? म तिम्रो गुरु कृष्णप्रसाद क्या !’
‘ओहो ! प्रिन्सिपल सर किन नचिन्नु ?’ भन्दै हितेश हत्तपत्त उठेर मेरो गोडा ढोग्न आइपुग्यो । दुब्लो र ख्याउटे, रक्तविहीन अनुहार, दिउँसै रक्सीको गन्ध र ठाउँठाउँमा प्वाल परेको उसको जिनको पाइन्ट अनि खुइलिएको जिनकै कमिजमा देख्दा मलाई दिक्क लागेर आयो । हितेश मैले देखेदेखि नै यस्तो कहिल्यै थिएन ।
‘सर हिजो आजको पहिरन हो, च्यातिएको होइन । लामो छुट्टी परेको हप्ता भएकोले हामी यस्तै रमाइलो गर्छौं’ भन्दै हितेश मतिर हेरेर हाँसिरहेको थियो ।
‘अनि वहाँहरू ? ए घ्याम्पी फुच्ची अनन्ता होइन ? कति स्लिम भइछ ! वहाँ ज्वाईंसाहेब’!’ ज्वाईंसँग हात मिलाउँदै ऊ भन्दै थियो– ‘म हितेश मिश्र, अमेरिका आएको १० वर्ष भए पनि यहाँचाहिँ ६ महिनापहिले मात्र आएको ! मेरो कामको बारेमा त के भन्नु ? तपार्इं त मेरो सरको छोरी बिहे गर्ने हैसियत राख्ने भएपछि राम्रै काममा हुनुहोला !’
‘यता हाम्रै टेबुलमा जाउँ हितेश’ भन्दै मैले उसलाई हामी बसेतिर बोलाएर ल्याएँ । उसको दस वर्ष कसरी बित्यो भन्ने जान्न चाहन्थेँ म । उसको बाबुको सपना र विश्वासलाई स्कुलको मेरो फस्र्ट ब्वाईको प्रवासको जीवन र अनुभव घोलेर सुन्न चाहन्थेँ म ! उसको दस वर्षे जीवनको बारेमा उसकै मुखबाट सुन्न चाहन्थेँ म !
एक घन्टासम्म हितेश बोलिरह्यो र आफ्नोबारेमा फलाकिरह्यो । हामी सुनिरह्यौँ । अन्त्यमा ‘सर मलाई आफ्नो जीवन यो दुर्गतिपूर्ण अवस्थामा पुगेकोमा कुनै खेद छैन ! नेपाल पनि कसरी जाउँ ? न त डिग्री, न पहिचान छ, न स्थिरता नै हुन सकेको छ’ भनेर ऊ जुरुक्क उठेर गयो । उसले हाम्रो प्रतिक्रिया सुन्नै पनि चाहेन ।
प्रवेशिका परीक्षा सकेर हाम्रो जिल्लाबाट मधेस झर्नासाथ हितेशलाई मावलीले २ वर्ष होस्टलमा राखिदिएका रहेछन् । पढाइ पहिलेदेखि नै अब्बल भएकाले ऊ आमाकहाँ पनि विरलै जाने रहेछ । आईएस्सी सकेर केही समयमात्र आफ्नो मधेसको घरमा थोरै दिन बसी अमेरिका जाने धुनमा काठमाडौँमा काकासँग पनि एक–डेढ महिना बसेर यता आएको रे ऊ ! आमा, बाबु स्कुल र होस्टल जीवनमा खुम्चिएर बसेकाले अमेरिका पस्नासाथ ऊ छाडा साँढेजस्तो भयो, पहिलो वर्ष राम्रै विद्यार्थी भए पनि त्यसपछि संगतले गर्दा ऊ बिग्रँदै गयो । पब जाने, पिएर झगडा गर्ने, अनि २–३ महिनामा एकपल्ट पुलिसको थुनामा पर्नु त उसका लागि सामान्य हुँदै गए । यसरी मेरो फस्र्ट ब्वाईले बाटो बिराएको देख्दा र सुन्दा मलाई ठूलो पीडाको अनुभव भयो । डाक्टर सदानन्दले के सोचेका थिए, मैले के अपेक्षा गरेको थिएँ, त्यसको कुनै अर्थ भएन र थिएन पनि ! फर्केपछि त्यो रात म राम्ररी सुत्न पनि सकिनँ । मेरो मनमा सदानन्द र हितेश नै आइरहे । ऊ कहाँ बस्छ सोध्ने हेक्का पनि भएन ।
३–४ दिनपछि एक दिन अप्रत्याशित समयमा हितेश टुप्लुक्क मकहाँ आइपुग्यो । ज्वाईंसँग पछि कतै भेट्दा ठेगाना लिएको रहेछ उसले ! ढोका खोल्दा देखेँ, एउटा थोत्रो कारमा सेतो टिसर्ट र कट्टु लगाएर आएको थियो ऊ । कोही थिएनन्, म एक्लै थिएँ घरमा ।
‘सरको मायाले मलाई तानेर ल्यायो यहाँ ! मनमा उकुसमुकुस भएर वर्षौंदेखि अड्किएर बसेको मेरो दर्दनाक यथार्थ कसमाथि पोखुँ ?’ ऊ ठट्टा गर्दै थियो ।
‘मेरो माया लाग्ने भए अहिलेदेखि रक्सी छोड, सुध्रिऊ अनि आफ्नो भविष्यको बारेमा सोच । अझै केही भएको छैन ।’ मैले अलि कडासँगै भनेँजस्तो लाग्यो । सोफाको तल भुइँमा निहुरो परेर बसेको उसले मेरो घुँडा सुम्सुम्याउँदै बोल्यो !
‘सर मेरो आफ्नै वेदना छ, आफ्नो जीवनको तीतो यथार्थबारे काकाकहाँ बस्न जाँदा मलाई थाहा भयो, म त आफ्नो बाबुको छोरा नै होइन रे ! आमा र हाम्रै पटवारीको लसपसबाट जन्मेको पो रे ! त्यसै दिनदेखि मेरो दिमाग नै ठेगानमा भएन । त्यो दिन मैले किन काकाकी छोरीसँग विवाद गरेछु ? किन उसलाई कुलको मर्यादा, सामाजिक प्रतिष्ठाका कुरा झिकेर सम्झाउने कोसिस गरेछु ! बुबा पनि त्यसैले हजुरको जिल्लाबाट सरुवा नभई आफ्नै इच्छाले थाती हुनु भएको रे ! परिवारको यति ठूलो तर गुह्य कुरो थाहा नपाउने म एक्लो थिएँ ।’
ऊ बोल्दै थियो ।
‘मधेस जाँदा आमा र बुवा त्यत्ति नजिक भएर कुरा गरेको कहिल्यै देखेको थिइनँ, तर यो हदसम्म होला भन्ने कुनै संकेत नै पाइनँ । म कति आहत भएँ होला, काकाकी छोरीलाई जथाभावी हिँडी भनेर सम्झाउन खोज्दा उसले मलाई प्रहार गरेको कटु शब्द सुन्दा मेरो मन चिराचिरा भएको थियो । त्यसैले म कसैसँग कहिल्यै नभेट्ने विचारले आएको हुँ ।’
यति भनेर मेरो फस्र्ट ब्वाई आफ्नो थोत्रो गाडीतिर लागेको थियो । यस पटक पनि हितेशले मलाई केही सोध्ने र बोल्ने मौका दिएन । म नाटकघरभित्र बसेर कलाकारको अभियन हेरिरहेको मूकदर्शकजस्तै हुन पुगेँ ।
Previous Articleसरकार संविधान संशोधनको गम्भीर गृहकार्यमा – प्रधानमन्त्री
Next Article आज भाइटीका, टीकाको उत्तम साइत ११:५२ बजे