नेपालमा जातीय विभेदको अन्त्य भएको धेरै समय भएको छ । तर, अहिलेसम्म पनि जातीय विभेदका आधारमा अमानवीय व्यवहार गर्ने कार्य भने रोकिएको छैन ।
धवलागिरी गाउँपालिका–५, मल्कबाङमा सञ्चालित जनज्योती आधारभूत विद्यालय भेडीखाल्टाका प्रधानाध्यापक रेशबहादुर बिकमाथि वैशाख ५ गते दलित भएर अर्काको घरमा पसेको भन्दै कुटपिट गरेका घटनाका दुई जना आरोपितलाई प्रहरीले अझैसम्म पनि गिरफ्तार गरेको छैन ।
धौलागिरी गाउँपालिका–५ भेडिखाल्टा निवासी ३५ वर्षीय बलबहादुर रोका र ३० वर्षीय जितेन्द्र जुग्जालीले प्रधानाध्यापक बिकलाई कामी भएर मगरको घरमा पसेको भन्दै कुटपिट गरेको पीडितले बताए ।
रघुगङ्गा गाउँपालिका–८, कुइनेमङ्गलेका बिकलाई विद्यालयमा पूर्व प्रधानाध्यापक युकुमारी गिरी रोकाको विदाई कार्यक्रमपछि व्यवस्थापन समितिका अध्यक्ष पार्वती पूर्जाको घरमा आयोजित विद्यालय व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा रोका र जुग्जालीले घरभित्र प्रवेश गरेको भन्दै कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते भएका बिकलाई उपचारका लागि बेनी अस्पताल पुर्याइएको भएपनि यहाँ सम्भव नभएपछि वैशाख ८ गते पोखरा पठाइएको थियो ।
वैशाख ५ गते कुटपिट भएको भएपनि वैशाख १५ गते मात्रै जिल्ला प्रहरी कार्यालयमा उजुरी आएको डिएसपी महेन्द्रप्रसाद मरासिनीले बताए ।
प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय दरवाङको टोली आरोपितलाई गिरफ्तार गर्न खटिएको भएपनि अहिलेसम्म फेला पार्न नसकिएको डिएसपी मरासिनीले बताए ।
वैशाख १६ गते उजुरी दर्ता भएपनि उनीहरूलाई गिरफ्तार नगरेको भन्दै वैशाख १८ गते संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति म्याग्दीले विज्ञप्ति प्रकाशन गर्दै कारवाहीका लागि माग गरेको छ ।
सङ्घर्ष समितिका संयोजक बलबहादुर विश्वकर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा जातीय विभेद गर्दै कुटपिट गरी प्रधानाध्यापक बिकको बायाँ गोडाको पैतालाको दुई ओटा हड्डी भाँचिएको उल्लेख छ ।
दोषीलाई तत्कालै गिरफ्तारगरी जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कानुनी कारवाही गरी पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
मुलुकी अपराध संहिताको परिच्छेद १४ को दफा १९२ को उपदफा (३) मा अङ्गभङ्ग भएको खत निको भई काम लाग्ने भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।
त्यस्तै परिच्छेद १० को दफा १६५ मा जातीय आधारमा विभेद गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।
संविधानको धारा २४ मा छुवाछूत तथा भेदभावविरूद्धको हकको व्यवस्था गरेको छ । धारा २४ को उपधारा (१)मा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन भन्ने व्यवस्था छ ।
तरपनि विद्यालय व्यवस्थापन समितिको अध्यक्षकै घरमा विद्यालयका प्रधानाध्यापकले नै गोडाको हड्डी भाँचिने गरी कुटपिट हुँदा पनि कारवाही नहुनु दुखद् भएको अधिकारकर्मीले प्रतिक्रिया दिएका छन् ।