सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु सार्वजनिक गरे सँगै पक्ष विपक्षमा बहश तथा छलफल चलिरहेकै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसादको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरीन् । संघिय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरीएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर सम्भावना देखाइएको भएपनि अबको चार वर्ष भित्र दोहोरो अंकको आर्थिक वृद्धिदर सम्भावना छ । राष्ट्रिय बचत २७ प्रतिशतले वृद्धि भई पुँजी निर्माणको लागि बलियो आधार तयार भएको दाबी सरकारले गरेको छ । यसले अब के देखाएको छ भने मुलुकको समृद्धि सम्भव छ र यसले अबको दिनमा राष्ट्र विकासका लागि सहज हुने सरकारी दावी निकै मजबुद मानिएको छ ।
सरकारले गरेको दावी र त्यस्ता कार्यन्वयनको पक्षमा मजबुद भएको खण्डमा ११ वर्षमा अर्थात् सन २०३० अगावै दिगो विकासका लक्ष्य हासिल गर्ने र वि.सं. २१०० सम्म उच्च मध्यमवर्गीय मुलुक बनाउने जुन अठोट सरकारले गरेको छ त्यो निकै महत्वपूर्ण र आशा लाग्दो कुरा पनि हो । चालु आर्थिक वर्ष भित्र नेपाल भित्र एक हजार छ सय मिटर भन्दा बढी सडक कालोपत्रे गरीएको र तीन सय पुल निर्माण भएको जुन तथ्य छ यसले सरकारले राम्रो सँग काम गरेको रहेछ भन्ने पनि देखाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०१९ भित्रै सञ्चालनमा ल्याउने र पोखरा विमानस्थल सन २०२१ भित्र सञ्चालनमा ल्याउने जुन उद्देश्य लिएको छ सरकारले त्यसले आर्थिक बृद्धिदर र राज्यको विकास सम्भव छ ।
अबको दिनमा हेर्ने हो भने हुन लागेका र हुने खालका जुन आयोजनाहरु छन् त्यसलाई कसरी हुन्छ सम्पन्न गर्ने तर्फ लाग्नु नै हो । यसले के देखाउँछ भने अबको ४ वर्ष भित्र पुष्पलाल लोकमार्ग, काठमाडौ निजगढ द्रुतमार्ग, हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्ने देखि प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयन गर्ने नै हो । त्यस्तै देशमा रहेको बेरोजगारी समस्या समाधानका लागि ५ लाख रोजगारी सृजना गर्ने जुन सरकारी योजना छ त्यसलाई पूर्णता दिनु पर्छ । नवलपरासीको फलामखानी उत्खनन्बाट पनि रोजगारीको अवसरहरु धेरै सृजना हुनेमा कुनै दुइमत छैन । त्यस्तै सन २०२० मा २० लाख पर्यटक नेपाल भिœयाउने जुन लक्ष्य छ त्यसलाई पुरा गर्न तर्फ सबै क्षेत्रले सरकारलाई सहयोग गर्नु पर्छ पनि । सडक र रेलमार्गलाई अर्जुनदृष्टि मान्दै समग्र नेपालको विकासलाई केन्द्रमा राखेर अगाडी बढ्ने खालको नीति तथा कार्यक्रम देखिएकोले अब नयाँ युगको शुरुआत भएको मान्नलाई कुनै दुविधा हुनेछैन ।