‘सबै श्रमिक र रोजगारदातालाई आह्वान, सामाजिक सुरक्षामा सुचीकरण हाम्रो अभियान’ भन्ने मूल नारासहित १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) बेनी, नगरपालिका कमिटी म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा विविध कार्यक्रम गरी श्रमिक दिवस मनाइएको हो ।
श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले विकास निर्माणको क्षेत्रमा श्रमिक तथा मजदुरहरुको ठूलो हात रहेको बताएका छन् । उनले देशमा विकास निर्माणको गतिलाई तीव्र रुपमा अगाडि बढाउन श्रमिकहरुको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिँदै श्रम अनुसारको ज्यालाको ग्यारेण्टी, सुरक्षा तथा आकस्मिक उपचार, सामाजिक सुरक्षा व्यवस्था जस्ता न्युनतम सेवासुविधालाई कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
देशमा केही पेटी ठेकेदारहरुले श्रमिक, मजदुरहरुको श्रम शोषण गरेको बताउँदै प्रदेश सभा सदस्य केसीले पेटी ठेकेदारहरुको विरुद्धमा श्रमिकहरु नै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । उनले श्रमिक, मजदुरविना देशको विकास निर्माण अपूरो रहने भन्दै सरकारले मजदुरहरुको पक्ष्मा सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व सांसद नवराज शर्माले सरकारले अगाडि सारेको ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माण गर्नका लागि श्रमिक, मजदुरहरुको हकहित तथा सामाजिक सुरक्षा अनुभुतिको नीति नियम बनाउनुपर्ने आवश्यकता रहेको औंल्याएका थिए । उनले विकास निर्माणको कार्यलाई द्रुत गतिमा अघि बढाउन र मजदुरहरुको पेशागत सुरक्षा गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्की, पेशागत महासंघ म्याग्दीका अध्यक्ष भक्त कार्की, जिफन्टका पूर्व जिल्ला अध्यक्ष गोपाल रिजालले श्रमिकहरुमाथि गरिएको सबैखाले शोषण र दमनका विरुद्ध स्थानीय सरकार, प्रदेश र संघले आवश्यक नीतिनियम बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । जिफन्ट म्यादीका अध्यक्ष बलादेवी राईको अध्यक्षता, उपाध्यक्ष राजकुमार राईको स्वागत र सचिव रमेश राईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच मे १ अर्थात् १३०औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा बुधबार नेपाल टे«ड युनियन कांग्रेस म्याग्दीले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरी दिवस मनाएको छ । बेनी नगरपालिका–६, जामुनाखर्क माविमा अध्ययनरत अध्ययनरत ४५ जना विद्यार्थीलाई शैक्षिक साम्रगी तथा ६ जना जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको गरिएको छ । विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै पूर्व सांसद रेशमबहादुर बानियाँले मजदुरको न्युनतम पारिश्रमिक, सुरक्षासहितका मागहरु पुरा गर्नका लागि आफ्नो पार्टीले दवाव दिने बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, पूर्व सहसभापति नेत्रबहादुर महतलगायत पार्टीका विभिन्न भातृ सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । टे«ड युनियन कांग्रेसका सभापति कोमलप्रसाद ढुङ्गानाको अध्यक्षता, नवराज पौडेलको स्वागत र भीमकुमारी सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि ट्रेड युनियनका पूर्व अध्यक्ष दुर्गाराम सुवेदीले प्रकाश पारेका थिए ।
विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो
Previous Articleयस्तो विवाद भएपछि बंगलादेशले फेर्यो क्रिकेटको जर्सी
Next Article विवादमा नतानौं