म्याग्दीका साहित्यकार ध्रुवलाल शर्माले नेपाल रेडक्रस सोसाईटी अर्थुङ्गे–छाप उपशाखालाई जग्गादान गरेका छन् । रेडक्रस उपशाखाको बहुउद्देश्यीय भवन निर्माणका लागि बेनी नगरपालिका–६, अर्थुङ्गे निवासी पूर्व शिक्षक साहित्यकार शर्माले जग्गादान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, म्याग्दीको पूर्व उपमन्त्री समेत रहेका शर्माले मङ्गलबार जिल्ला मालपोत कार्यालय म्याग्दीमार्फत उपशाखाको नाममा करिब तीन आना जग्गा रजिस्टे«शन पास गरिदिएका हुन् । उनले उपलब्ध गराएको जग्गाको बजार मूल्य करिब पाँचलाख रुपैयाँ भएको अनुमान गरिएको छ ।
शर्माले उपलब्ध गराएको जग्गाको छेउमा रहेको करिब साढे दुई आना जग्गा पनि स्थानीय मित्रकुमारी खड्काले दान गर्ने घोषणा गरेको उपशाखाका सभापति कृष्णप्रसाद सुवेदीले जानकारी दिए । उपशाखालाई प्राप्त भएको जग्गामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने योजना रहेको उनले बताएका छन् ।
समाजसेवी व्यक्तित्व तथा सामाजिक क्षेत्रमा क्रियाशिल शर्माले मानवीय सहयोगको भावनाले रेडक्रसलाई जग्गा उपलब्ध गराएको बताइएको छ । उक्त जग्गामा रेडक्रसको बहुउद्देश्यीय भवन बनाइने भएको छ । पछिल्लो समय सामाजिक क्षेत्रमा जग्गादान तथा नगदलगायत सहयोग गर्ने प्रचलन बढ्दै गैरहेको छ ।