प्रताप बानियाँ
हिमाली जिल्ला म्याग्दीमा विस्तारै सञ्चारको सहज रुपमा पहुँच बढ्दै जान थालेको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दी जिल्लामा पछिल्लो समय क्रमिक रुपमा सञ्चार क्षेत्रमा म्याग्दीवासीहरुको पहुँच बढ्दै गएको तथ्याङ्कले देखाएको हो ।
नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार ९२ हजार भन्दाबढी म्याग्दी जिल्लाका नागरिकहरु सञ्चार क्षेत्रसँग जोडिएका छन् । २०६८ सालको जनगणना अनुसार १ लाख १३ हजार ६ सय ४१ जनसङ्ख्या रहेको म्याग्दीमा ९२ हजार ४ सय ४८ जना अर्थात् ८१ दशमलव ३ प्रतिशत जनसङ्ख्या सञ्चार क्षेत्रमा आबद्ध रहेको नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।
टेलिकमले वितरण गर्ने नमस्ते मोबाइलको सिम प्रयोग गर्नेहरु कुल ७४ हजार १३ जना रहेकोमा १६ हजार ३ सय २३ जना सिडिएमए तथा स्काई फोनका प्रयोगकर्ताहरु रहेका छन् । यसमध्ये सबैभन्दा धेरै नमस्ते प्रिपेड मोबाइलमा फोन गर्नेहरु मात्रै ७१ हजार ९ सय ३६ जना रहेको नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीका प्रमुख विष्णुदेव शाहले जानकारी दिए । उनका अनुसार स्काई फोन चलाउनेहरु १५ हजार ८ सय १० र नमस्तेको पोस्पेड मोबाइल प्रयोग गर्ने २ हजार ७७ जना रहेका छन् ।
यसैगरी सिडिएमए फोन प्रयोग गर्ने ग्राहकहरु भने ५ सय १३ जना रहेको कार्यालय प्रमुख शाहले बताए । त्यस्तै भिस्याट तथा अन्य फोनका प्रयोगकर्ताहरु ५२ जना रहेका छन् । ल्याण्डलाइनतर्फ म्याग्दी सदरमुकाम बेनीबजार तथा बेनी नगरपालिका–९, गलेश्वर बजार क्षेत्रमा १ हजार २ सय ८९, पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको सदरमुकाम दरबाङ बजारमा १ सय २०, पर्यटकीय क्षेत्र अन्नपूर्णको घोरेपानीमा ३४ गरी कुल १ हजार ४ सय ४३ ग्राहक रहेको उनको भनाइ छ । त्यस्तै एडिएसएलतर्फ कुल ६ सय १७ ग्राहक रहेकोमा बेनी–गलेश्वर क्षेत्रमा ४ सय ९०, दरबाङ बजारमा ९९ र घोरेपानीमा २८ ग्राहक रहेको टेलिकमको तथ्याङ्कमा उल्लेख छ ।
म्याग्दी जिल्लाभर नेपाल टेलिकमको बिटिएस सङ्ख्यामध्ये मोबाइल टावर २५, सिडिएमए ५ र वाईम्याक्सका ४ वटा बिटिएस टावर सञ्चालन गरिएको टेलिकम म्याग्दीका प्रमुख शाहले बताए । यसैबीच आगामी कार्यक्रमतर्फ मंगला गाउँपालिकाको पर्यटकीयस्थल झाँक्रीपानीमा नेपाल टेलिकमको टावर जडान गरी सञ्चालनमा ल्याउने कार्यक्रम भैरहेको छ । त्यसैगरी रघुगंगा गाउँपालिका–७, चिमखोला र कुईनेमङ्गलेलाई लक्षित गरी नमस्ते मोबाइलको टावर जडानको क्रममा रहेको प्रमुख शाहले बताएका छन् ।
मंगलाकै पर्यटकीय क्षेत्र टोड्के तथा पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–४, मुदीस्थित खिबाङमा रहेका १० मिटरका टावरको क्षमता विस्तार गरी क्रमशः २० र २५ मिटर बनाइने भएको छ । रघुगंगाको पाखापानीमा थ्रिजी सेवा जडान गरिसकिएको छ भने बेगखोला, अर्मन र ताकममा थ्रिजी जडानको क्रममा रहेको छ । विद्युत सेवा पुगेको सबै ठाउँमा इन्टरनेट जडान गरिने तथा टुजीलाई थ्रिजी र थ्रिजीलाई फोरजी सेवामा रुपान्तरण गरिने टेलिकमको तयारी छ ।
Previous Articleपसिनाको मूल्य कति!
Next Article साहित्यकार शर्माद्वारा रेडक्रसलाई जग्गादान