‘मिस नेशनल आइकन–२०१९’ को उपाधि देवी मगरले जितेकी छन् । म्याग्दीकी २२ वर्षीया मगरले शीर्षसहित ‘ड्याट्सन कार’ समेत हात पारेकी छन् ।
कार्यक्रम बिजेता छानिएपछि उनले आँसु खसालेकी थिइन् । ‘साँच्चीकै मैले जितेको हुँ ’ भन्दै उनले आँसु खसालेकी थिइन् । १२ प्रतिस्पर्धीलाई पछि पार्दै मगरले यस वर्षको उपाधि हासिल गरेकी हुन् । ब्राइट इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘मिस नेशनल आइकन’ को यस दोस्रो संस्करण फस्ट रनरअप मञ्जना राई र सेकेण्ड रनरअप समृद्धि कार्की भए । उनीहरुले क्रमशः ताजसहित टिभिएस स्कुटी र नगद ५० हजार प्राप्त गरे ।
त्यस्तै प्रतियोगितामा मुना राई थर्ड रनरअप भइन् । उनले पनि ताजसहित नगद २० हजार प्राप्त गरिन् । सबै विजेतालाई पुरस्कार स्टेजमै हस्तान्तरण गरिएको थियो । प्रतियोगिताको निर्णायकमा हेरिटेज कार्पेटका अध्यक्ष डा.माधव मल्ल, सौन्दर्यविद् डा. नबल पजियार, ड्याट्सनका जनरल मेनेजर ज्ञानेन्द्र चन्द, सञ्चारकर्मी बेञ्जु सरोज थिए ।
राजधानीमा आयोजना हुँदै आएको सबैभन्दा बढी धनराशी पुरस्कार भएको सौन्दर्य प्रतियोगिताका रुपमा चिनिएको ‘मिस नेशनल आइकन’ले सुरुदेखि नै विजेतालाई कार पुरस्कार प्रदान गर्दै आएको छ ।
सौन्दर्य प्रतियोगिताको गरिमा र इज्जत बढाउन विजेतालाई कार, स्कुटी र नगद पुरस्कार प्रदान गर्दै आएको आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईले बताए । प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य रहेका थिए ।