सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाएर उपयोग गर्नका लागि पार्क निर्माणको काम सुरु भएको छ । जिल्लामा रहेका सामुदायिक वन अन्तर्गतका खाली जग्गाजमिन र पाखो क्षेत्रलाई उपयोग गर्नेगरी हरियाली बनाउन पार्क निर्माण थालिएको हो ।
हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि दुईवटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ मा ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । त्यसमध्ये बेनी नगरपालिका–२, ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूह र पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूह रहेका छन् ।
डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले दिएको जानकारी अनुसार मंगलाको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूहलाई कार्यक्रममार्फत १८ लाख रुपैयाँ बजेट उपलब्ध गराइने भएको छ । यसैगरी बेनी नगरपालिकाको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । यसमध्ये २० प्रतिशत सामुदायिक वन उपभोक्ता समूहले बेहोनुपर्नेछ । बदलिँदो वातावरणसँगै शहरी कोलाहलबाट मुक्त हुनका लागि स्वच्छ हावा लिँदै हरियाली दृश्यावलोकन गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको उनले बताएका छन् ।
शहर तथा बजार क्षेत्र वरिपरी रहेका खाली एवं पाखो जग्गा जमिनलाई प्रयोग गरेर हरियाली क्षेत्रका रुपमा विकास गर्न कार्यक्रम आएको सहायक वन अधिकृत बल्छौडीको भनाइ छ । कार्यक्रम अनुसार सामुदायिक वन क्षेत्रको खाली जग्गामा गह्रा निर्माण गरी बगैंचा बनाउने, बोटविरुवा रोप्ने, वृक्षारोपण गर्ने, शोभनीय खालका नयाँनयाँ विरुवाहरु लगाउने, बस्न मिल्ने ठाउँ बनाई विस्तारै हरियाली पार्क निर्माण गर्ने योजना रहेको छ । अहिले दुवै सामुदायिक वन उपभोक्ता समूहले कार्यक्रममार्फत प्राप्त बजेटको सहयोगमा काम गरिरहेका छन् । हरियाली पार्क निर्माणबाट स्वच्छ हावाका साथै ती ठाउँहरुमा पर्यटनको आगमन वृद्ध गर्ने समेत योजना रहेको बताइएको छ ।
ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूहले पर्यटकीय क्षेत्र लभ्लीहिलमा हरियाली पार्क निर्माणको काम तीव्र गतिमा अगाडि बढाएको छ । हालसम्म लभ्लीहिल क्षेत्रमा हरियाली पार्क निर्माण गर्ने काम ५० प्रतिशत सम्पन्न भैसकेको डिभिजन वन कार्यालय म्याग्दीले जानकारी दिएको छ । हरियाली पार्क निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने कार्यक्रम लक्ष्य समेत रहेको जनाइएको छ । पछिल्लो समय खासगरी आन्तरिक पर्यटकको रोजाइमा परेको लभ्लीहिलको विकास र विस्तार एवं थप प्रचारप्रसारका लागि पनि कार्यक्रम सञ्चालन गरिएको छ ।
Previous Articleधवलागिरी गाउँकार्यपालिका बैठकका निर्णयहरु
Next Article विविध कार्यक्रमसहित खोप सप्ताह मनाइयो