एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आए पनि जीवनयापन सहज बनाउन मुस्किल भएको म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । समाजमा एकल महिलाका बारेमा विगतमा जस्तै टिकाटिप्पणी गर्ने प्रवृत्ति घटेको अवस्थामा राज्यका निकायबाट शिक्षा, स्वास्थ्य, यातायात लगायतका सार्वजनिक क्षेत्रमा विषेश छुट, एकल महिलाको भत्तामा वृद्धि जस्ता सुविधालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको हो ।
एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीको आयोजनामा बिहीबार बेनीमा सम्पन्न महिला अधिकार तथा देवानी संहिता, फौजदारी संहिता ऐनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो बताइएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बेनपा–८, का वडा अध्यक्ष रामकृष्ण बराईलीले एकल महिलाको जीवनयापन सहज बनाउन वडास्तरबाटै विभिन्न किसिमका सीपमूलक तालिम, क्षमता विकास कार्यक्रमका साथै व्यवसाय सञ्चालनमा सहज हुनेगरी कार्यक्रममा बजेट विनियोजन गरिने बताएका छन् ।
बेनी नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष बराईलीले समाजमा एकल महिलाद्वारा सञ्चालित विभिन्न कार्यक्रमहरु प्रभावकारी बन्दै गएको बताउँदै एकल महिलाको सूचीमा पर्नेलाई आर्थिक सङ्कटबाट मुक्त गराउन तालिमसहितका कार्यक्रमहरु आवश्यक रहेको बताए ।
जिल्ला समन्वय समितिका सदस्य खिमा पूर्जाले एकल महिलाका समस्यालाई समाधान गर्ने जिम्मेवारी स्थानीय तहको समेत भएकाले हरेक वर्ष बजेट विनियोजनमा प्राथमिकता दिनुपर्ने बताइन् । एकल महिला तथा बालबालिका सशक्तिकरण संस्थाका अध्यक्ष बिमला गौचनले एकल महिलाहरूमा भएको सिपलाई व्यवहारमा प्रयोग गरेर आयआर्जन वृद्धि गर्न र स्वावलम्बी बनाउने उद्देश्यमा संस्थाले विभिन्न कार्यक्रमहरु गर्ने गरेको बताएकी छिन् ।
यसैबीच सोही अवसरमा वडास्तरीय एकल महिला तथा बालबालिका सशक्तिकरण उपसमिति समेत गठन गरिएको छ । समितिको अध्यक्षमा नरदेवी विश्वकर्मा, उपाध्यक्षमा शान्ति भट्रचन, सचिवमा मनकुमारी नेपाली, सहसचिव संगिता सुवेदी, कोषाध्यक्षमा मैती थापा, सदस्यहरुमा दिलकुमारी गौचन, तोरन्ती पुन, मनकुमारी गौचन र पार्वती श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा वडा सदस्य भीमकुमारी विकलगायत एकल महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महिला नेत्रृ मनकुमारी विक र स्वागत देवी केसीले गरेका थिए । तालिमको सहजीकरण मुक्ति ढुङ्गानाले गरेका थिए ।
Previous Articleबैशाख १२ को मध्य दिन
Next Article नगरपालिका र गाउँपालिकामा भ्रष्टाचार बढ्यो ः अख्तियार