जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्युन छ । नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कमी हुँदा मर्ज वा बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या धेरै भएका विद्यालय समेत भेटिन्छन् ।
तर, म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यामिक विद्यालयमा भने हरेक वर्ष भर्ना हुन आउनेको लर्को लाग्ने गरेको छ । शहर–बजारमा प्रतिष्ठित निजी विद्यालयदेखि ग्रामीण क्षेत्रबाट आफ्नो छोराछोरीलाई भर्नाका लागि आवेदन फारममा विद्यार्थीले बायोडाटासहितको विवरण बुझाएर सोमबार प्रवेश परीक्षामा सहभागी भएका थिए ।
भौतिक संरचना र मानवीय जनशक्तिको अभावले १ देखि ९ कक्षासम्म क्षमता अनुसार १ सय ६५ जना विद्यार्थीलाई भर्ना लिन गरिएको परिक्षामा २ सय ३१ जना विद्यार्थीमध्ये ८१ जनाले नाम निकाल्न सफल भएका छन् । अधिकांश निजी विद्यालयबाटै आउँछन्, छनौट भएपछि अभिभावकले बधाई साटासाट गर्ने गरेको विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए ।
भौतिक संरचना, शिक्षक दरबन्दीको अभाव लगायतका कारण आवेदन दिएका सम्पूर्ण विद्यार्थीलाई भर्ना गर्न असर्मथ रहेको प्रअ श्रेष्ठको भनाइ छ । विगत पाँच वर्षदेखि विद्यालयले प्रवेश परीक्षा लिने गरेकोमा हरेक वर्ष १ सयको हाराहारीमा भर्ना गर्ने गरिन्छ । विद्यालयले अपाङ्ग, विपन्न परिवार, द्वन्द्वपीडितलाई कोटा समेत छुट्याएको छ । सामुदायिकमा अंग्रेजी माध्यममा राम्रो पढाई हुन थालेपछि महङ्गो शुल्क तिरेर पढाउन बाध्यता नभएको अभिभावक याम केसीले बताए ।
विद्यालयमा विद्यार्थीको निगरानीमा सिसी क्यामेरा जडानसहित आधारभूत तहदेखि माविसम्म कक्षागत अभिभावक निगरानी समिति बनाएपछि दैनिक छोराछोरीको कमीकमजोरी, शैक्षिक गतिविधि लगायतका बारेमा बुझ्ने व्यवस्था समेत रहेको छ । कक्षागत अभिभावक अनुगमन समितिको संयोजकमा अभिभावको तर्फबाट आलोपालोसहित शैक्षिक गुणस्तर बढाउन विभिन्न कार्ययोजना बनाउने गरिएको बताउँदै भौतिक पूर्वाधार र जनशक्ति भए २ हजार विद्यार्थीलाई भर्ना लिन सकिने बताइएको छ । शिक्षा मन्त्रालयले २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालयका रुमा बेनी सामुदायिकलाई घोषित गरेपछि हालसम्म देशभरबाट डेढसय भन्दा धेरै विद्यालयले भ्रमण गरेका छन् ।