तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको एक वर्षपछि मात्रै एकताले पूर्णता पाएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७०औं स्थापना दिवसको अवसरमा सोमबार नेकपाले ७७ ओटै जिल्ला नेतृत्वको टुङ्गो लगाएर पार्टी एकतालाई पूर्णता दिएको हो ।
पार्टी केन्द्रीय सचिवालयको बैठकले टुङ्गो लगाएको नेतृत्वको भागबण्डा अनुसार नेकपा म्याग्दीको अध्यक्षमा गोविन्द पौडेल र सचिवमा तत्कालीन एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ चयन भएका छन् । नेकपाले जिल्ला नेतृत्वमा तत्काललाई अध्यक्ष र सचिव पदमा तत्कालीन एक÷अर्का पार्टीले लिने गरी जिल्ला नेतृत्वलाई टुङ्गो लगाएको जनाएको छ ।
नेकपा म्याग्दीको अध्यक्षमा चयन भएका पौडेल तत्कालीन नेकपा माओावादी केन्द्रका जिल्ला संयोजक हुन् । पूर्व सभासद समेत रहेका पौडेल म्याग्दीको कम्युनिष्ट आन्दोलनका पुराना नेता मानिन्छन् । तत्कालीन माओवादी जनयुद्धमा पौडेलको परिवारसहित जनयुद्धमा होमिएको थियो । पार्टी केन्द्रले अध्यक्षमा चयन गरेलगत्तै पौडेलले जिल्लामा नेकपालाई अझ बलियो र जनमुखी बनाउन आफू थप क्रियाशिल तथा सशक्त भएरु लाग्ने प्रतिक्रिया दिएका छन् ।
सचिवमा चयन भएका श्रेष्ठ दुई÷दुई कार्यकालसम्म तत्कालीन एमालेको जिल्ला अध्यक्षको नेतृत्व सम्हालिसकेका छन् । अत्यन्तै शालिन र भ्रद्र स्वभावका श्रेष्ठ तत्कालीन समयमा एमालेको जिल्ला अध्यक्ष भएसँगै पार्टीलाई बलियो र संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । श्रेष्ठ २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा तत्कालीन अर्थुङ्गे गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । पार्टीमा कार्यकर्ताले श्रेष्ठलाई कुशल र सक्षम नेताका रुपमा लिने गरेका छन् ।
Previous Articleबलिउड सेलिब्रिटीको बिकिनी अवतार
Next Article छन्त्याल परिवारले भलिबल प्रतियोगिता गर्ने