पश्चिम म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङ बजारमा ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो शाखा विस्तार गरेको छ । मालिका गाउँपालिका–६, दरबाङमा गएको पुस ११ गतेदेखि कारोबार सुरु गरेको शाखाको मङ्गलबार एक औपचारिक कार्यक्रमबीच शाखा उद्घाटन गरिएको हो ।
बागलुङमा केन्द्रीय कार्यालय रहेको बैंकले दरबाङमा नवौं शाखा विस्तार गरेको जनाएको छ । शाखाको सञ्चालक समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठ र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले संयुक्त रुपमा उद्घाटन गरेका थिए । शाखाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रोका मगरले ग्रामीण भूगोललाई समेटिएको दरबाङमा बैंक स्थापना हुनु सिङ्गो गाउँपालिकाको लागि सकारात्मक पक्ष रहेको बताए । उनले बैंक स्थापनासँगै गाउँपालिका र छिमेकी गाउँपालिकाका ग्रामीण भेगका जनताहरुलाई पैसा जम्मा गर्न, झिक्न र व्यावसायिक कारोबारमा सहज हुने विश्वास समेत व्यक्त गरेका छन् ।
बागलुङ, म्याग्दी र कास्की कार्य क्षेत्र रहेको बैंकको शाखामार्फत विभिन्न शीर्षकमा कर्जा लगानी, निक्षेप सङ्कलनलगायत वित्तिय सुविधा उपलब्ध गराइने प्रवन्धक हेमराज शर्माले जानकारी दिए । वैदेशिक रोजगारीमार्फत भित्रिने रेमिट्यान्सलाई कृषि, साना तथा मझौला उद्योगमा प्राथमिकताका साथ लगानी गर्ने सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले बताएका छन् । अध्यक्ष श्रेष्ठको अध्यक्षता, प्रवन्धक शर्माको सञ्चालन र सञ्चालक समिति सदस्य दिपेन्द्र श्रेष्ठको स्वागतमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleप्रकाश सपूतको दोहोरी ब्याटल–२
Next Article प्रत्यक महिना एक प्रहरी सम्मानीत हुने