बेनी–दरबाङ सडक खण्ड अन्तरगत बाबियाचौर–दरबाङ खण्डमा काम गरेका मजदुरले पारिश्रमिक माग्दा ठेकेदारले धम्की दिएका छन् । २ वर्ष पहिला काम गरेका पारिश्रमिक माग्दा ठेकेदारले धम्की दिएको भन्दै मजदुरहरुले आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएका छन् ।
ठेकेदार चौरजहारी नगरपालिका–८, रुकुमका ३५ वर्षिय तुलाराम सार्कीले मजदुर खटाएर काम गरेको २१ लाख रुपैयाँ भन्दा बढी रकम भुक्तान नगरेको मजदुरहरुले जनाएका छन् ।
क्याराभान कन्स्ट्रक्सनसँग सम्झौता गरि २०७९ मंसिर १५ गतेदेखि २०७९ चैत मसान्त सम्म काम गरेका मजदुरहरुको रकम कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक चन्द्रप्रकाश थकालीले उपलब्ध नगराएको र रकम माग्दा उल्टै धम्की दिएको मजदुरहरुले जारी गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
क्युपेक नेपालका अध्यक्ष जितबहादुर किसानको नेतृत्वमा मजदुरहरुको टोलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
मजदुरको बाँकी रकम माग गर्दा क्याराभान कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक थकालीले धम्की दिएकोले मजदुरको आर्थिक तथा ज्यानको सुरक्षाको माग गरेर ज्ञापन बुझाइएको पीडित तुलाराम सार्कीले जानकारी दिनुभयो ।
मजदुरहरुको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कम्पनीका सञ्चालकलाई बोलाएर छलफल गर्ने बताउनुभयो ।
काम गरेको ज्याला माग्दा जिउज्यान सम्बन्धी धम्की दिनु निन्दनीय कार्य भएको क्युपेक नेपालका केन्द्रीय सचिव बलादेवी राईले बताउनुभयो । मजदुरहरुले काम गरेको २१ लाख ६४ हजार २ सय ६५ रुपियाँ पाउन बाँकी रहेको तुलाराम सार्कीले जानकारी दिनुभयो ।