म्याग्दी उद्योग वाणिज्य संघले उत्कृष्ट सम्मान पाएको छ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५३औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस–२०७५ को अवसरमा म्याग्दी उद्योग वाणिज्य संघ सम्मानित भएको हो ।
काठमाण्डौमा सम्पन्न साधारणसभाको अवसरमा महासंघ अन्तरगत देशभर रहेका ‘ख’ वर्गका संघहरुमध्य देशभरबाटै उत्कृष्टताको सम्मान प्राप्त गरेको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । बिहीबार आयोजित साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओली र महासंघका अध्यक्ष भवानी राणाले म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
म्याग्दी उद्योग वाणिज्य संघले उद्योगी, व्यापारीहरुको हकहितसँगै जिल्लाको पर्यटनसहित सामाजिक तथा मानवीय गतिविधिमा समेत सक्रिय भएको भन्दै सम्मान गरेको संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए । उनका अनुसार संघमार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनसहित विभिन्न रचनात्मक कार्यको समेत प्रशंसा गरिएको थियो ।
सम्मान ग्रहणपछि संघका जिल्ला अध्यक्ष कर्माचार्यले संघका गतिविधिलाई आगामी वर्षमा पनि पर्यटन तथा धार्मिक क्षेत्रको विकासका साथसाथै अन्य आवश्यक क्षेत्रमा सक्रियतापूर्वक सहभागिता जनाउने प्रतिक्रिया दिएका छन् । उनले म्याग्दी भ्रमण वर्ष–२०७५ ले देशभर जिल्लालाई थप प्रचारप्रसार गरेको बताए ।
साधारणसभामा संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, द्वितीय उपाध्यक्ष शाक्यको उपस्थिति रहेको छ । महासंघ अन्तरगत ‘ख’ वर्गका देशैभरी ४८ ओटा संघ क्रियाशिल रहेका छन् ।
Previous Articleनारच्याङमा कुपोषणसम्बन्धी स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम
Next Article राम कि रावण?