शनिबार बाट म्याग्दीको बेनीमा रेडियो म्याग्दीको आयोजनामा पर्यटन महोत्सव शुरु भएको छ । विभिन्न विवादका बचि केही दिन ढिला गरि शुरु भएको महोत्सवमा केही असमझदारी अनि केही असन्तुष्टि पनि सतहमा देखिए । चैत २१ देखि शुरु गर्ने भनिएको महोत्सव २३ गते उद्घाटन भयो । विभिन्न कारणहरुलाई बाहिर सतहमा ल्याईयो तर भित्र के थियो भन्ने त समयले पक्कै पनि बताउने छ । म्याग्दीमा हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण साना तथा घरेलु उद्योगाको प्रवद्र्धन भन्ने मुल नाराका साथ शुरु भएको महोत्सवले ३० गते सम्म बेनी बजारमा आम नागरिकलाई मनोरञ्जन दिनेछ । प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव तथा ११ औं वार्षिकोत्सव कार्यक्रमको रुपमा आयोजित कार्यक्रममा झण्डै पाँच दर्जन कलाकारहरुको प्रस्तुती बेनीमा रहनेछ ।
विभिन्न जातजाती तथा भेषभुषाको झाँकी सहित सुरु भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद बिनोद के.सी.को प्रमुख आतिथ्यता रहेको छ । विभिन्न विवाद निकालिए पनि आफ्ना व्यक्तिगत रिसिबिलाई बाहिर छताछुल्ल पार्ने काम भएको भन्नेहरुको जमात पनि कम छैन । साना तथा घरेलु उद्योगको प्रवद्र्धन भनिएको महोत्सवमा म्याग्दी उद्योग बाणिज्य संघले सहयोग नगरेको आयोजकले बताई रहँदा बाणिज्य संघ भने कुनै पनि प्रकारको सहयो नै नमागिएको बताउँदै आएको छ । समग्रतामा हेर्दा अहिले पर्वतमा जेसीजको अयोजनामा सडक खाना महोत्सव, बागलुङमा चैते दशैं अनि म्याग्दीमा पर्यटन महोत्सव । यस अवस्थालाई हेर्ने हो भने तीन वटै जिल्लामा एकै पटक महोत्सव हुँदा यसले के कस्तो सन्देश दिने हो ?
मेला महोत्सवले राम्रो सन्देश दिनु पर्छ । अहिलेको महोत्सवको ध्यय भनेको पर्यटन प्रवद्र्धन गर्नुका साथै महोत्सवबाट मुनाफा आर्जन गरेर रेडियोको उन्नतीका लागि खर्चिनु पनि हो । यस अर्थमा यो महोत्सव महत्वपूर्ण हो कि कुनै एउटा सञ्चार माध्यमले महोत्सव आयोजना गर्दै छ र त्यसले सकारात्मक सन्देश जानु पर्छ । तर निहित आफ्नो स्वार्थपुर्तिका लागि सिंगो संस्थालाई बन्धकी बनाउने कार्य पनि कसैले गर्नु हुँदैन । हुन त सबैको आ–आफ्नै आस्था र चाहना धारणा हुन्छन् नै । आफ्नो चाहना पुर्ती गर्नु भन्दा पनि सामुहिक स्वार्थका लागि नै अगाडी बढ्नु पर्छ । महोत्सव सफलताको शुभकामना !