बागलुङ, १४ कात्तिक – बागलुङका पत्रकार र उद्योगी व्यवसायी बिच शनिबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । दिपावली, छठ र नेपाल सम्वतका अवसरमा प्रेस चौतारी बागलुङले आयोजना गरेको चौतारी सम्वद्ध पत्रकार र नेपाल राष्ट्रिय वाणिज्य सघं बागलुङ शाखा बिचको मैत्रीपूर्ण फुटबलमा सघं ३–१ गोल अन्तरले विजयी भएको छ ।
पत्रकार र व्यवसायीका बिचमा आपसी सद्भाव, परिचय र शुभकामना आदान प्रदानका लागि आयोजना गरिएको मैत्रीपूर्ण फुटबलमा चौतारीले खेलको शुरुवाति अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा सघंले बिजयी हासिल गरेको हो । चौतारीका तर्फबाट खेल शुरु भएको केही मिनेटमै पत्रकार युवराज कंडेलले गरेको गोलबाट अग्रता लिएको थियो । तर खेलको पहिलो हाफ सकिन लाग्दा प्राप्त गरेको पेनाल्टीमा सघंका तर्फबाट सुर्य लामिछानेले गोल गर्दै खेल बराबरीमा ल्याउनुभएको थियो ।
पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा भने लामिछानेले नै थप दुई गोल सहित ह्याट्रिक गर्दै जित सुनिश्चत गर्नुभएको थियो । मैत्रीपूर्ण खेलको नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, प्रेस चौतारीका केन्द्रिय सचिव रामकृष्ण शर्मा र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै एमाले अध्यक्ष शर्माले पत्रकार र व्यवसायी बिचको मैत्रीपूर्ण फुटबलले समृद्ध समाज निर्माणको अभियानमा आपसी सम्वन्ध मजबुत बनाउन र एकतावद्ध भएर अघि बढ्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
प्रेस चौतारीका केन्द्रिय सचिव रामकृष्ण शर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, बागलुङ उद्योग वाणिज्य सघंका महासचिव दयाराम पौडेलले स्वश्थ जिवनका लागि खेल जरुरी भएकाले यस तर्फ ध्यान केन्द्रित गर्न महत्वपूर्ण भुमिका भुमिका खेल्ने बताउनुभएको थियो । समापनका अवसरमा राष्ट्रिय वाणिज्य सघंका अध्यक्ष पुनम शर्मालाई चौतारीका तर्फबाट माया चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम प्रेस चौतारी बागलुङका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, उपाध्यक्ष नविन शिशिरको स्वागत र सदस्य युवराज कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।