सन्तोष कटुवाल
काठमाडौं । विद्युतिय दुर्घटनामा परी दुबै हात गुमाएका राप्तीसोनारी गाँउपालिका १ कुशुम निवासी सुरेश कुमाललाई सिंहबाहिनी नृत्य कला मन्दिर ठाकुबाबा १ भुरी गाउँले आज ५१ हजार १ सय रुपमैया हस्तान्तरण गरेको छ ।
गजेन्द्र गुरुङले आर्थिक सहयोग प्रदान गर्न अभियान संचालन गरेका केही दिनमा नै सो रकम कुमाललाई प्रदान गरिएको हो । कला मन्दिरको तर्फबाट अध्यक्ष तारा केसी र कोषाध्यक्ष गायिका सिमा चन्दले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नु भएको हो । असहाय, असक्त व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले जापानमा कार्यरत नेपाली नागरिक अरुण क्षेत्री र भगवान भण्डारीले जापानीज १ लाख रुपैया कला मन्दिरमा पठाएको र सोही रकमबाट आफुहरुले सहयोग गरेको गायिका चन्दले बताउनु भयो ।
सहयोगीहरुबाट प्राप्त रकमलाई आफ्नो आय आर्जनमा लगाउने र आफ्नो विगत र वर्तमानलाई परिवर्तन गरी विगतको दुखलाई सुखमा परिवर्तन गर्ने प्रयास गर्ने बताउनु हुन्छ सुरेशकी श्रीमती यलिना कुमाल ।
उहाँ अनुसार परिवारबाट र समाजबाट अपहेलित भएर बस्न बाध्यताबाट छुट्कारा पाउनका लागि हरप्रयास गरे पनि आर्थिक अभाव नै प्रमुख अवरोध भएको बताउनु हुन्छ ।
विकट स्थानमा भए पनि गरिब, विपन्न र असहाय नागरिकलाई सहयोग गर्ने उद्देश्यले कला मन्दिरले विभिन्न कार्यक्रम गरी देशविदेशबाट सहयोग संकलन गर्न सफल भएको छ । पवित्र मनसायका साथ सहयोग गर्ने उद्देश्यले सहयोग गर्न जुटेपनि कुरा काट्नेको संख्या धेरै छ, जसले जे भने पनि हामी हाम्रो अभियानमा लागि रहने छौं भन्नु हुन्छ कला केन्द्रका अध्यक्ष तारा केसी ।
कुमाललाई काँचुली खबर अनलाईन पत्रिकाका सम्पादक समेत रहेका गुरुङले आफ्नो जन्मदिनको अवसर पारेर कुमाल दम्पत्तीलाई १० हजार रुपैया सहयोग गरी यो अभियानको सुरुवात गर्नु भएको थियो । पीडित कुमालको दुवै हातका साथै दुबै खुट्टा र पेटमा समेत असर पुगेको छ ।
कुमाल २०६९ फागुन १२ गते विद्युतिय दुर्घटनामा पर्नु भएको थियो । कामको सिलसिलामा लमजुङ पुगेका कुमाल स्काभेटरको सहचालकका रुपमा काम गर्नु हुन्थ्यो । स्काभेटरको ग्रिस बदल्ने क्रममा विद्युतको नाङ्गो तारमा अल्झीएका कुमालले आफ्ना दुबै हात गुमाउनुपर्यो । विद्युतिय दुर्घटनामा परेका सुरेश कुमाल द्वारा सबै सहयोगको अपिल गरेका छन ।