रेडियो म्याग्दीको ११औं वार्षिकोत्सव तथा प्रथम म्याग्दी पर्यटन महोत्सवको अवसरमा बेनीमा रहेका उद्योगी, व्यापारी, बजारवासी र सरोकारवलाहरुसँग महोत्सव तयारीको विषयमा आइतबार भेला सम्पन्न भएको छ । म्याग्दी जिल्लाको विद्युतीय सञ्चारमाध्यममा पहिलो रेडियोले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा राखेको म्याग्दी पर्यटन महोत्सव २०७५ लाई सफल पार्नको लागि सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
भेलामा बोल्दै म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेशका सदस्य कुविरकुमार श्रेष्ठले म्याग्दीको पर्यटकीयस्थलहरुको प्रचारप्रसार गर्न लागेको यो महोत्सवले म्याग्दीको पर्यटन विकास गर्ने विश्वास व्यक्त गरेका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले उद्योग वाणिज्य संघले आयोजना गरेको म्याग्दी भम्रण वर्ष–२०७५ लाई सफल बनाउन रेडियो म्याग्दीले आयोजना गर्ने महोत्सवले ठूलो भूमिका खेल्ने भन्दै त्यसका लागी म्याग्दी उद्योग वाणिज्य संघले महोत्सवलाई सफल बनाउन लागिपर्ने बताए ।
भेलामा नेपाली कांग्रेसका उप–सभापति माधवप्रसाद रेग्मी, म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका उपाध्यक्ष अनु पुन, शिवालय टोल सुधार समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, मगर संघ म्याग्दीका अध्यक्ष डगमाया पाईजा, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष विरबहादुर थापाले बोलेका थिए । भेलामा उपस्थित उद्योगी, व्यापारी, सर्वसाधारणले महोत्सव सफल बनाउन सम्पूर्ण क्षेत्रबाट सहयोग गर्ने बताएका छन् ।
‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मूल नारासहित पर्यटन महोत्सव आयोजना गरिएको रेडियोका संस्थापक अध्यक्ष एवं महोत्सवका मूल संयोजक चिरञ्जीवी शर्माले जानकारी दिए । महोत्सवको तयारीलाई समेत तीव्र बनाइएको बताइएको छ ।
यही चैत २१ देखि बैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवमा खुल्ला लोकदोहोरीगीत प्रतियोगिता, म्याग्दी डान्स आइडलको रुपमा एकल नृत्य लगायतका प्रतियोगीता, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने महोत्सवका व्यवस्थापन संयोजक भरतबहादुर रकालले जानकारी दिए । उनका अनुसार खुल्ला दोहोरीगीत प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ भने नृत्य प्रतियोगितामा क्रमशः २५ हजार, १० हजार र पाँचहजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ ।
बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा १ सय १५ वटा व्यापारिक स्टलहरु रहने छन् । स्थानीय उत्पादनका कृषि लद्युउद्यम लगायतका बस्तुहरुको प्रदर्शनी र प्रवद्र्धनको लागि आयोजकले १० वटा स्टल निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
Previous Articleछन्त्यालको उपचारमा बहराईनबाट सहयोग
Next Article जन्मदिनमा ओमकुमारी शान्ति कोषलाई सहयोग