जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्नका लागि पर्यटकीयस्थलमा पदयात्रा र सरोकारवालाबीच अन्तत्र्रिmया तथा छलफल भएको छ । नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसर पारेर शनिबार पत्रकार महासंघ म्याग्दीको आयोजनामा सदरमुकाम बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिलसम्म पदयात्रा गरिएको हो ।
म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा नजिकै रहेको पर्यटकीयस्थल लभ्लीहिलसम्म पदयात्रा र त्यसपछि सरोकारवालाको बिचमा लभ्लीहिलको सम्भावना तथा विकासका बारेमा अन्तत्र्रिmया गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले जनाएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गैरहेको लभ्लीहिल क्षेत्रको विकास र प्रचारप्रसारका लागि पदयात्रा र अन्तत्र्रिmया गरिएको बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेनपा–२, का वडा अध्यक्ष हिराबहादुर थापाले पत्रकारले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गरेर समाजलाई सुसूचित गर्नुपर्ने बताए । उनले पछिल्लो समय पर्यटकीयस्थलका रुपमा लभ्लीहिल विकसित हुँदै गैरहेको बताउँदै यसअघि तत्कालीन जिल्ला विकास समितिको कार्यालय, पर्यटन कार्यालय पोखरा र बेनी नगरपालिकाको आर्थिक सहयोग एवं स्थानीयको पहलमा गोलघर, रेलिङ र आराम बेन्च निर्माण गरिएको जानकारी दिएका छन् ।
वडा अध्यक्ष थापाले पत्रकार महासंघको स्थापना दिवसको अवसरमा आयोजना गरिएको पदयात्रा र जनप्रतिनिधिसँगको अन्तत्र्रिmया एवं छलफल कार्यक्रमले पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा विकास, सम्भावनाको उजागर, समस्याको पहिचान गरी यसबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए । उनले चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय म्याग्दीको कुल १२ लाख रुपैयाँ बजेटको सहयोगमा लभ्लीहिलमा शहरी वन प्रवद्र्धन तथा पार्क निर्माण कार्यक्रम अन्तर्गत हरियाली पार्क निर्माणका लागि योजना सञ्चालन सुरु भएको बताए । यसैगरी लभ्लीहिल नजिकै शान्ति स्मारिका निर्माणका लागि ५ रोपनी जग्गा खरिद गर्ने प्रक्रिया अघि बढेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका निवर्तमान अध्यक्ष सुरत केसीले समयको माग र परिवर्तनसँगै अब प्रविधिमैत्री पत्रकारिता गर्नुपर्ने आवश्यकता रहेको बताउँदै पत्रकारिता र सञ्चार क्षेत्र जिम्मेवार तथा संवेदशील रहेको हुँदा समाजका सबै गतिविधिलाई सत्यतथ्य रुपमा उठाउनुपर्नेमा जोड दिए । पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले कानुन निर्माण र कार्यान्वयन गर्ने व्यक्तिबाटै सामाजिक सञ्जालमार्फत पत्रकार र सञ्चार क्षेत्रमाथि आक्रमण भएकोमा खेद प्रकट गरे । उनले कानुन निर्माण तथा कार्यान्वयन गर्ने निकाय कमजोर बनेपछि पत्रकार र सञ्चार क्षेत्रबाट समाधानको उपाय खोज्नु स्वभाविक भएको टिप्पणी गरेका छन् ।
म्याग्दी शाखाका उपाध्यक्ष आचार्यको अध्यक्षता, सचिव गोरखनाथ सुवेदीको सञ्चालन र सहसचिव कमल खत्रीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । महासंघको जिल्ला, प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यहरु, स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमहरुमा आबद्ध पत्रकारहरुले पदयात्रामा सहभागिता जनाएका थिए ।