गृहमन्त्री रामबहादुर थापाले संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि नै रहने बताएका छन् ।
मंगलबार संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले पूर्वमन्त्रीहरुको मर्यादाक्रम सांसदहरुको भन्दा माथि राखिएको भन्ने समाचार आएको उल्लेख गर्दै गृहमन्त्री थापालाई सो सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका थिए ।
त्यसको जवाफ दिनेक्रममा गृहमन्त्री थापाले जनप्रतिनिधिहरुको मर्यादा क्रमलाई माथिनै राख्ने राष्ट्रिय नीति रहेको उल्लेख गर्दै पूर्वमन्त्रीहरुभन्दा संघीय संसदका सांसदहरुको मर्यादाक्रम माथिनै रहने बताए ।
गृहमन्त्री थापाले मन्त्रिपरिषद बैठकमा प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने विषयमा छलफल जारी रहेको उल्लेख गर्दै संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि नै रहने व्यवस्था गर्ने प्रष्टयाएका हुन् ।
उनले नयाँ मर्यादाक्रम मन्त्रिपरिषद बैठकबाट पारित गरी छिट्टै राजपत्रमा प्रकाशित गर्ने सरकारको योजना रहेको पनि समितिलाई जानकारी गराए । गृहमन्त्री थापाले नयाँ मर्यादाक्रमका विषयमा सरोकारवाला निकायसँग आवश्यक छलफल भइरहेको पनि बताए ।