विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दी बेनीको आयोजनामा सञ्चालित शेयर सदस्य र सञ्चालकहरुका लागि २ दिने सहकारी शिक्षा तालिम आइतवार सम्पन्न भएको छ ।
सञ्चालकहरुलाई थप जिम्मेवार बनाउन, शेयर सदस्यहरुलाई सक्रियताका साथ कारोबारमा सहभागी गराई संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।
तालिम समापनका क्रममा संस्थाका सञ्चालकहरुले सहकारी ऐनको मर्म र भावना अनुसार सहकारी प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सहकारी ऐनले उल्लेख गरेको विषयलाई कार्यान्वयन गरेर म्याग्दी जिल्लाकै उत्कृष्ट सहकारी बनाउन हामी तत्पर छौ, अध्यक्ष यामबहादुर बानियाले भन्नुभयो ।
उहाँले गैर शेयर सदस्यसंंग कारोबार नगर्ने, शेयर सदस्य सदैव खुल्ला राख्ने, सदस्य बन्दा अनावश्यक थप रकम नलिने तथा सहकारीका शेयर सदस्यहरु सबै समान हुन् भन्ने अवधारणा अनुसार संंस्था सञ्चालन गरिने बताउनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष तथा बेनी नगरपालिकाका वडा अध्यक्ष कृष्णबहादुर बाँनियाले सहकारीको मर्म र भावना अनुसार धेरै भन्दा धेरै सदस्यहरुलाई आवद्ध गराउदै अगाडि बढ्न आग्रह गर्नु भयो ।
संस्थाका सञ्चालक तथा शेयर सदस्य र कर्मचारीहरु गरी ४० जनाको सहभातिगा रहेको तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी र केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र काठमाडौंका अधिकृत नारायण खड्काले सहकारी ऐन, सहकारी सञ्चालनका लागि सञ्चालक र शेयर सदस्यहरुको भूमिका, वचतको महत्व, सदस्यहरुलाई व्यवसायमा गर्न सकिने सहयोग, संस्थाले सञ्चालन गर्न सक्ने थप व्यवसाय लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।
विश्वामित्र साकोसमा हाल ३ सय ५० जना शेयर सदस्य, २ करोड ६० लाख शेयर रकम, ८ करोड निक्षेप, ११ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक सरस्वती बाँनियाले जानकारी दिनुभयो ।
Previous Articleरुप्से दैनिक ! ०३ चैत्र, २०७५
Next Article रुप्से दैनिक ! ०४ चैत्र, २०७५