-अधिवक्ता ईश्वर गिरी
बदनियत शब्द प्राय गरेर अदालतमा प्रयोग हुने यो शब्दलाई खराब नियत पनि भन्ने गरेको पाइन्छ । जुन शब्द अप्रत्यक्ष वा परोक्ष मनसाय बराबरमा प्रयोग हुदै आएको पाइन्छ । कसूरमा आशय राम्रो वा नराम्रोको आधारमा दोषी निर्दोष हुने नभएता पनि मुद्दामा बदनियत चिताएर काम गरेको भन्ने अभियोगपत्रहरु विशेषत सम्पत्ति सम्बन्धी कसूरमा उठने गरेको पाइन्छ । बदनियत शब्द प्राय गरेर अदालतको फैसलामा आउने र यो उल्लेख भए बमोजिमको कसूरको मनसाय नभई उक्त कसूर सम्पन्न भैसकेपछि त्यसबाट उठाउन खोजिएको फाइदा वा भलाई तर्फ केन्द्रित रहने कुरा हो ।
कोही मानिस मरेको खुशियालीमा भोज गर्नु र मार्ने मनसाय राखी काम गर्नु फरक होइन र ? जस्ता प्रश्न मनसायको सन्दर्भमा आउने प्रश्न हो । काम गर्ने इच्छा सहितको कामले वर्तमान कामलाई अगाडि बढाउने तर्फ केन्द्रित बनाउँदछ । काम सम्पन्न भएपछि कुनै तत्व भएको काममा मनसाय थियो भनी आँकलन गर्न मिल्दैन भन्ने मान्यता रहेको पाइन्छ । खास गरेर बदनियतको अर्थ बृहत नेपाली शब्दकोष अनुसार नियत खराब भएको, स्वार्थ तथा नीच विचारबाट अरुलाई धोका दिने वा बहकाउने मनसाय भएको, बेइमान, धोकेबाज, जानीजानी कर्तब्य वा करार सम्वन्धी दायित्व पुरा नगर्ने, दुराचारी, दुष्ट भन्ने हुन्छ ।
त्यसै गरी सोही शब्दकोषले बेइमानलाई इमान वा सच्चा व्यवहार नभएको, अविश्वासी र बेइमानीलाई छलकपटको व्यवहार, इमान वा धर्मको विचार नरहने स्थिति भनी उल्लेख गरेको पाइन्छ । यसबाट नियतमा नै खोट भएको दुष्टचारीले अनुग्रहित काम नै बदनियतपूर्ण काम हो । यसमा बेइमान, धोकाको गुन्जाइस रहेको हुन्छ भने काम गर्ने ब्यक्ति छली, इमानमा नरहेको, सच्चा व्यवहार नगर्ने धोकेबाज व्यक्तिको रुपमा काम गर्ने मानिस देखिन्छ । यी सबै अवस्थाहरु त्यस्ता मानिसमा कहिले शुरु हुन्छ । र त्यसको निरन्तरतामा के के काम भएका हुन्छन भन्ने सम्बन्धमा प्रत्येक मुद्दामा यी कामका अंगहरुको हेक्का राख्नु पर्ने हुन्छ । बदनियत शब्दले दुईवटा पक्षहरुलाई इङ्कित गर्दछ । पहिलो त्यस्तो काम हुनुप–यो जसले त्यो कामबाट कर्ताले हाँसिल गर्न खोजेको फाइदा आफूलाई वा अरु कसैलाई के कस्ता रहेका छन भन्ने हेर्नुपर्छ । त्यसै गरी पहिलो त्यो हाँसिल गर्दा उसले गर्ने कामले आफू अन्तर्गतको निकाय वा संस्थालाई वा आफूले सपथ खाई जिम्मा लिएको काम गर्ने निकायमा के कस्तो हानी हुँदैछ भन्ने जानकारी उसको दिमागमा भएको हुनुपर्छ ।
दोस्रो त्यो मानिसले गर्ने काम यस्तो हुन्छ की जसले अर्कालाई धोका दिइरहेको हुन्छ । तर कतिपय अवस्थामा थाहा पाएर पनि दुवैले मिलेर तेस्रो पक्षको अहित चिताएर वा तेस्रो पक्षलाई नोक्सानी र आफूलाई फाइदा लिने गरी नियतमा नै खोट राखी काम गरेका हुन्छन । बदनियत शब्द काम सम्पन्न हुन नसकेको वा कामको अन्तिम चरणमा आई संस्थाको उद्देश्य अनुसार काम हुन नसकेको अवस्थामा यस शब्दलाई हेर्नु भन्दा पनि पहिला यो काम थाल्दाकै अवस्थामा ती तत्वहरु देखिन्छन वा देखिदैनन् भन्ने तर्फ हेरी यो खराव नियतको बारेमा एकिन गर्नु पर्छ । प्रतिवादी तुल्सीराम पाण्डे समेतको मुद्दामा २० वटा जीपहरु दर्ता गरेको विषय रहेको मुद्दामा बदनियतको बारेमा उल्लेख गरेको पाइन्छ । बुटवल निवासी यी प्रतिवादीले हेभी इक्वीपमेन्टको पत्र समेत कीर्ते बनाई लिलामीमा सकारको पत्रहरुको आधारमा जनकपुर यातायात कार्यालयमा गाडीहरु दर्ता गरेका रहेछन । यसमा कार्यालय प्रमुख गोपाल प्रसाद ढुंगेलको बदनियतको सम्बन्धमा भनिएको छ । बुटवल बस्ने मानिसले जनकपुरमा गाडी दर्ता गर्न ल्याएको,अस्थायी दर्ताको प्रमाण नभएको, हेभी इक्वीपमेन्टको १० वर्ष पछाडी मात्र प्राप्त हुन आएको पत्र प्रथम दृष्टिमा नै शङ्काष्पद देखिन आएको र शङ्का गर्नुपर्ने प्रसस्त सम्भावना रहेकोमा सो पत्र वास्तविक हो वा होइन भन्ने तर्फ छानविन नै नगरिएको र अस्थायी प्रमाण पत्र समेत पेश नभएको अवस्थालाई बदनियत गरेको आक्षेप रहेको पाइन्छ । प्रतिवादीले साविकको दर्ता प्रमाण पत्र नै पेश नगरेकोमा बिना आधार गाडीको चेक गरी ठीक भएको कुरा लेखेको आधारलाई वदनियत रहेको भनी आँकलन अदालतले गरेको छ । त्यस्तै प्रतिवादी टोलनाथ घिमिरेले रा.वा. बैकको लागि धितो राख्ने जग्गाको चार किल्ला प्रमाणित गरी सिफारिस गरेकोमा निजको बदनियत नदेखिएकोले सफाई दिने निष्कर्ष अदालतले दिएको पाइन्छ । यस मुद्दामा बदनियतमा गैरकानूनी लाभ र गैरकानूनी हानी पुग्न गएको उक्त कार्य गलत नियत वा वदनियतले गरेको हुनु पर्ने,त्यस्तो कार्य गर्नेलाई त्यस्तो कार्य गराउनेले पोल गरेको वा यति रकम कलम दिई काम गराएको भन्नु पर्ने,त्यस्तो कार्य गलत,दुषित मनसायसाथ गरेको हुनुपर्ने भन्ने उल्लेख गरेको छ । बदनियत भित्र आपराधिक कार्यमा गलत नियत राखी काम गरेको र आपराधिक मनसायमा आफूलाई वा अरु कसैलाई फाइदा र सम्बन्धित निकायलाई हानी पुग्ने दुषित नियत राखेको हुनुपर्ने भन्ने अदालतको निष्कर्ष छ । आपराधिक कार्य बदनियतपूर्ण छ र मनसाय लाभ प्राप्त गर्ने रहेको छ भने त्यस्तो बदनियत पूर्ण कार्य गर्नको लागि प्रतिवादीले के के काम गरेको अथवा नगरेको देखिनुपर्छ । गलत नियत भन्ने कुरा मनसायको रुपमा आएको अवस्थामा भने यो परिस्थिति र अवस्थार एवं तथ्यको सम्पूर्ण विश्लेषण गरी निकाल्ने हो भनिएको पाइन्छ । यदि अपराधिक काममा नै बदनियत भनिएको छ भने यो आपराधिक कार्यबाट नै पुष्टि गर्नुपर्छ । कस्तो अवश्थामा यो आपराधिक काममा बदनियत आउछ भन्ने सन्दर्भमा उक्त काम प्रतिवादी आफैले लाभ र उसको संस्थालाई हानी पुग्ने हिसाबले गरेको देखिनुपर्छ । बोधगम्य आधारमा तथ्य आफै बोलेको विषय हुनुपर्छ । त्यसलाई संकलित अन्य तथ्यहरुबाट बन्ने वस्तुतथ्यले बदनियत पुष्टि हुनुपर्छ ।
आदालती प्रक्षेपण हेर्दा भ्रष्टाचारको कसूरमा बदनियतलाई मूलतत्व भनेकोले यहाँ आपराधिक काम अन्तर्गतका तत्वहरुमा बदनियतपूर्ण तत्व एउटा हुनुपर्ने भन्ने देखिन्छ ।बदनियतपूर्ण तवरले आफूले गैरकानूनी लाभ र अर्कोलाई गैरकानूनी हानी पुग्न गएको देखिन्छ भने यो कार्य भ्रष्टाचारजन्य फौजदारी प्रकृतिको अपराध हुन जान्छ भन्ने अदालती निष्कर्ष भएकोले गैरकानूनी लाभ र हानी बदनियतपूर्ण देखिनु पर्छ । यसो भन्नुको मतलब प्रतिवादीले गरेको कामबाटै मनसाय देखिनुपर्छ । कुनै पनि भ्रष्टाचारजन्य कसूरमा प्रतिवादीले गरेको कामबाट लाभ हानी भएको अवस्थामा स्वतः बदनियत आउने हुदैन । हानी अन्य बेरुजु लगायतका प्रक्रियाबाट उठन पनि सक्ने अवस्था हुन्छ ।जुन कुरा प्रतिवादीको खराब आचरण भए पनि भ्रष्टाचार हुन सक्दैन । सामान्य सेवाग्राहीलाई लामो यातना दिएर सेवाग्राहीको काम गर्ने तर रकम कलम दिने लिन खाने सेवाग्राहीको काम तत्काल गरिदिने राष्ट्रसेवकको भ्रष्टाचार मुद्दामा देखिनु पर्ने हुन्छ ।जसमा रकम कलम लिने उद्देश्यले काम ढिलो गर्ने वा कामै नगरिदिने जस्ता दोषयुक्त कामहरु प्रतिवादीबाट भएका हुन्छन । जुन कुरा राज्यले विश्वास गरेकोमा धोखा दिई पदलाई गलत नियत र उद्देश्यका लागि प्रयोग गरेको अवस्था हुन जान्छ ।
स्रोत: मुलुकी अपराध संहिता (लेखक: केदार दाहाल), सहयात्रा नेपाल पब्लिकेशन
प्रतिक्रियाका लागि ः ९८५७६२६७१८
Previous Articleओमनमा गुल्मीका युवाले गरे आत्महत्या
Next Article नेपालको राजनीति र महाभारत