हामी बहुसंख्यकले कुनै न कुनै माध्यमले महाभारतको कथा पढेका, सुनेका वा देखेका छौ | महाभारत वास्तवमा एक राजनीतिक दस्ताबेज पनि हो, एक सुझ-बुझ पूर्ण राजनीतिको पूर्ण नैतिक शिक्षाको दस्ताबेज | यसो विचार गर्दा महाभारतको कथा र अहिलेको नेपालको राजनीति उस्तै उस्तै रहेको भान हुन्छ | यसमा कौरव र पाण्डव पक्ष को को हुन् त्यो आ-आफ्नो बुझाईमा भर पर्ने कुरा हो | महाभारतको शुरुवातलाई धृतराष्ट्रको अन्ध पुत्र मोह जसले अ-प्रत्यक्ष रुपले दुर्योधनलाई दम्भी, घमण्डी र आफ्नो जितको लागि जस्तो सुकै अनैतिकता सम्म उत्रन सक्ने चरित्र निर्माण गर्न मद्दत गरेको हुन्छ भने यो मात्रै महाभारत हुनुको एकमात्रै कारणको रुपमा लिन सकिन्न | यसमा भीष्मको अन्धो प्रतिज्ञा जसले गर्दा युद्ध रोक्न नसक्ने बाध्यता अनि धर्मराजको रुपमा सम्मानित युधिष्ठीरको जुवाको लत पनि उतिकै जिम्मेवार देखिन्छ त्यसका साथै सबभन्दा महत्वपूर्ण पाण्डवहरुको अस्तित्व, सम्मान र न्याय राज्यपक्षले दिन नसक्दा महाभारत हुन पुगेको भनिन्छ र अन्तमा न्यायको जित भएपनि असंख्य मानब जीवनको क्षती भएको इतिहास छ |
अहिलेको नेपालको राजनीतिक अवस्थाको बिश्लेषण गर्दा त्यस्तै देखिन्छ | कतै अस्तित्वको लडाईमा राज्यद्वारा गरिएको विभेदका शिकार भएका असन्तुस्ट समुह छन् भने कतै अवसर र साधन श्रोत माथिको पहुचमा बर्षौदेखिको निरंकुशताको निरन्तरताको लागि सामुहिक अभिव्यक्ति झल्किन्छ | महाभारतमा जसरि धृतराष्ट्रले कहिले पनि आफुलाई घटित अवस्थाको जिम्मेबारी लिएनन र युद्धको बस्तुस्थिति बुझ्न संजयको सहारा लिए त्यस्तै अहिले सिमित मुट्ठीमा रहेका राज्यशक्तिका हर्ताकर्ताहरुले अहिलेको विद्यमान द्वन्दलाई बुझ्नु र समाधान गर्नुको साटो आरोप प्रत्यारोपमा ब्यस्त हुनुका साथै बस्तु स्थिति बुझ्न पनि आफु अग्रसर नभई आफ्ना वरिपरीकाहरु माथि निर्भर रहेका देखिन्छन | अनि अहिलेको समयमा रहेका नैतिकता बिहिन संजयहरू आफ्नै अनुकुलता अनुसार ब्याख्या र विश्लेषण गर्दै राज्य र जनता बीचको सम्बन्ध धुमिल्याउने प्रयाशरत भेटिन्छन | समाजको चाहना बुझ्न नचाहेको देखिन्छ |आफ्नो आँखा चिम्लेर वरिपरी भै रहेको अवस्थाबाट अनभिज्ञता जनाउने प्रयाश अ-दुरदर्शिताको उत्कृष्ट नमुनाको रुपमा देखिन्छ |
नेपालको हरेक एतिहासिक परिबर्तनलाई नियाल्ने हो भने सबैमा सफलताको श्रेय आम नागरिकलाई जान्छ चाहे त्यो २००७ को प्रजातन्त्र स्थापनाको कुरा होस् वा २०४७ को लोकतन्त्र स्थापनाको लागी गरिएको आन्दोलन | ती सबै सफल आन्दोलनहरुको पछाडी एउतै गुढ़ रहस्य थियो सत्तासिनले देखेका सपनामा आम जनतालाई समावेस गर्न नसक्नु | अर्थात् जब राज्यले देखेको सपनासंग आमजनता आफुलाई जोड्न सकेको हुँदैन भने त्यहाँ अविस्वासरुपी ठुलो दुरी बढ्दै जान्छ जसले पक्कै पनि राम्रो परिणाम ल्याउदैन |आखिर किन यस्तो हुन्छ त ? राज्यले देखेको बिकासको सपना आम नेपालीको सपना किन बन्न सक्दैन त ? जब राज्यले कोरेको बिकासका खाकाहरुमा आम नेपालीको भोक, रोग, सुरक्षा र आत्मसम्मान अटाईदैन भने त्यसले राज्यलाई नागरिकसंग जोडदैन बरु टाढा बनाउछ एक अर्का संग | अनि परिणाम सामाजिक द्वन्दको पुनराबृति |
चाहे धृतरास्ट्र जस्तो पुत्र मोहको रुपमा रहेको आफ्नो वरिपरीका, जातीय मूल वा पुर्ख्यौली सम्बन्ध मोहले आम नागरिकलाई फरक रुपले हेर्ने दृष्टिकोणको निर्माण गरिएको होस् वा भीष्मले गरेझै गरिएको आन्धो प्रतिज्ञा दुवै राष्टका लागी अहित हुने कार्य नै गर्दछ | जसरि महाभारतमा प्रस्ट रुप मा देखिने युद्धरत दुई पक्ष मात्र रहे पनि परोक्ष रुपमा विभिन्न पात्रहरु कर्ण, द्रोणाचार्य, शकुनी, कृष्ण सबैले आ- आफ्नै किसिमले सक्रिय भूमिका खेलेका छन त्यस्तै नेपालको राजनीतिमा पनि प्रत्यक्ष राज्य संचालनमा सहभागी नहुने पक्षहरु पनि सक्रिय भइ आम नागरिकको दुख र पिडा संग आफुलाई जोड्दै पक्ष वा विपक्ष को रुप मा भूमिका निभाउने अवसर पाएका देखिन्छन |
महाभारतको एक महत्वपुर्ण पक्ष सानो समुह पाण्डवहरु जसका नेतृत्वकर्ता युधिस्थिर को जुवाको लतले पाण्डवहरुलाई विभिन्न अप्ठयाराहरुमा मात्रै पारेनन् अन्ततः महाभारत हुनलाई नै एउटा पक्ष बने जसरि कि अहिलेको नेपालको राजनीतिमा सक्रिय सत्तामा रहेका केहि व्यक्तिका असमबेदशिलता र अदुरदर्शिताका कारण सम्पूर्ण समुहले विभिन्न अप्ठयारा स्थितिहरू झेल्नु परेको यथार्थ कसैसंग लुकेको छैन |यसमा एउटा ज्यादै महत्वपुर्ण पक्ष नारि लाई बस्तु को रुप मा गरिएको ब्यबहार पनि कतै न कतै महाभारत हुनुमा सहयोगी बनेको स्पस्ट देखिन्छ | नेपाल को छोराहरुले जारि गरेको संबिधानमा नेपाली महिलालको गिज्याएको आत्मासम्मान लाई द्रौपदी को चिर हरण संग दाज्न सकिन्छ |
एकलव्यलाई आफ्नो शक्ति वाण प्रयोग गर्नबाट बन्चित गराउन गुरु द्रोनाचार्यले गुरुदक्षिना को रुपमा बुढी औला मागी शिक्षा र गुरु-चेला परम्परा बिच कालो धब्बा लगाए झैँ नेपालको शिक्षा प्रणाली जसले अहिलेका नेपालका युवाहरुलाई दिएको ज्ञानमा आफ्नै देशको इतिहास जान्ने अवसर बाट नियतबस बन्चित गरेर खुलेर बाण चलाउन नसकेका बिर योधासरी बनाईदिएका छन् | नेपालको युवा जो इतिहास देखि वर्तमान सम्म देशलाई बिभिन्न संकटबाट बचाउन र देशको अस्तित्व जोगाउन कहिले लाहुरेको रुपमा निर्यात गरिए त कहिले मजदुर को रुपमा बिदेशिन बाध्य भए ताकी देश जोगाउन सकियोस | देश बचाउनलाई नेपाली युवाले जे जति गरे पनि राजनीतिक संरचनाले उनीहरुको उर्जा नीति निर्माण तहमा प्रत्यक्ष सहभागिताको मार्फत देश निर्माणमा लगाउने नीति निर्माण बन्न सकेन तर पनि महाभारतमा कृष्णको भूमिका न्यायको पक्षधरको रुपमा रहे झैं नेपाली युवा अगाडी देखा पर्ने बेला भैसकेको छ जसले सबैको साझा अस्तित्व, सम्मान र सामाजिक न्याय सहित को पहिचान दिई बिगतमा गरिएका अन्यायहरु सुधार्ने बाचा सहित युगौं देखि पछाडी पारिएका आदिबासी, जनजाती, महिला, मधेशी सबैलाई समेटी समृद्ध नेपाल बनाउन अगाडी बढ्न सकोस र व्यक्तिगत स्वार्थबस बनाइएका अवसर तथा श्रोत साधनहरु माथिको पहुँचको लागि निर्मित परम्परागत संग्रचना भत्काई सबैको लागि सहज संरचना को निर्माण कार्यमा जुट्न सकोस र महाभारत जस्तो मानब जीवनको क्षति न हुदै न्याय सम्पादन हुने बाताबरणको सिर्जना गर्न सकियोस |
लेखकको समाजशास्त्रीय अध्यनमा आधारीत नीजि बिचार हो ।