म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरिएको छ । हिमाली जिल्ला कायम गराउन आवश्यक मापदण्ड पुग्दा समेत पहाडी जिल्लाकै रुपमा कायम गर्नु अन्याय भएको भन्दै जिल्ला, प्रदेश तथा प्रतिनिधिसभाबाट लगातार दबावसहित प्रमाणहरू पेश गरिएपछि हिमाली जिल्लामा सुचीकृत भएको हो ।
केही नेपाल ऐन संशोधनमार्फत गरिएको प्रस्तावलाई प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेको प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले बताए । उनका अनुसार नेपाल ऐन संशोधनमार्फत म्याग्दी जिल्ला हिमाली जिल्लामा सुचीकृत भएको छ । हिमालको काखमा भएर पनि पहाडी जिल्लाको नामबाट चिनिनुपर्ने अवस्थाको अन्त्य उनले बताएका छन् ।
देशभर रहेका हिमाली जिल्लाले बजेट, जनसङ्ख्याको आधारमा आवश्यकता अनुसार स्थानीय तहको थपलगायत राज्यबाट प्राप्त गर्ने विभिन्न सुविधा प्राप्त हुने भएकाले पनि सहज हुने सांसद थापाको भनाइ छ । पारित भएको ऐनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेपछि कार्यान्वयनमा आउने बताइएको छ । दर्जनौंपटक हिमाली जिल्लाका लागि प्रयास गरेको बताउँदै उनले प्रयास सफल हुनुका साथै म्याग्दीलाई पनि हिमालै हिमालको जिल्लाको रुपमा समेत प्रचारप्रसार गर्न पाइने बताए ।
हिमाली जिल्ला घोषणा गर्न जिल्ला समन्वय समिति, गण्डकी प्रदेश र प्रतिनिधिसभामा जिल्लाको बास्तविकताको आधारमा प्रमाण समेत पेश गरिएको थियो । हिमालै हिमालले घेरिएको म्याग्दीलाई हिमाली जिल्लामा समावेश नगर्दा म्याग्दीका जनतालाई अन्याय भएको भन्दै जिल्लाका राजनीतिक दलले समेत सामुहिक रुपमा प्रस्ताव समेत पेश गरेका थिए । हिमाली भूगोल भए पनि पहाडी जिल्ला कायम गरिएकोमा बजेट विनियोजन, पर्यटन प्रर्वधन, हिमाल आरोहणका लागि आउने आरोही पर्यटकबाट प्राप्त हुने रोयल्टीलगायत राज्यको प्राथमिकतामा पर्न नसकेको अवस्थामा हिमाली जिल्लाको मान्यता प्राप्तले हालसम्मको प्रयास सफल भएको गण्डकी प्रदेशका सांसद विनोद केसीले बताए ।
जिल्ला समन्वय समितिले समेत हिमाली जिल्लामा सुचीकृत गर्न माग गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत म्याग्दीलाई हिमाली जिल्लाको रुपमा घोषणा गर्न माग गरिएको थियो । जिसस प्रमुख देवेन्द्रबहादुर केसीले हिमाली क्षेत्रमा समावेशको खवरले उत्साहित भएको प्रतिक्रिया दिए । जिल्लाको धवलागिरी गाउँपालिका–४, मुदीमा धौलागिरि प्रथमदेखि छैटौंसम्मका चुचुराहरु रहेका छन् । मानापाथी हिमालको चुचुरो समेत मुदीमै पर्दछ ।
Previous Articleबालमन्दिरमा नवनिर्मित विद्यालय भवनको उद्घाटन
Next Article नवआगन्तुक प्रनाउ मरासिनीलाई स्वागत