म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतम शनिबार केडी वर्ष पत्रकारिता पुरस्कार–२०७५ बाट सम्मानित भएका छन् । मंगला गाउँपालिका–२, सिमलचौरमा रहेको केडी कटेज प्रालिले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा समाचारको माध्यमबाट कृषि र ग्रामीण पर्यटन क्षेत्रको विकासमा पु¥याएको योगदानवापत उनलाई नगद ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो ।
अन्नपूर्ण पोष्ट्, रासस, सगरमाथा र धवलागिरी टेलिभिजनको म्याग्दी संवाददाता गौतम म्याग्दीबाट प्रकाशन हुने रिखार दैनिक पत्रिकाको प्रकाशक र म्याग्दी काली एफएमको वरिष्ठ संवाददाता हुन् । नेपाल पत्रकार महासंघको गण्डकी प्रदेशका सदस्य समेत रहेका एक दशकदेखि म्याग्दीमा क्रियाशिल गौतमले यसअघि पनि विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन् ।
सोही अवसरमा हाल अस्टे«लियामा रहेका अन्नपूर्ण पोष्ट्का पूर्व म्याग्दी संवाददाता गोपाल छन्त्याललाई कदरपत्र, नागरिक दैनिक र न्युज २४ टेलिभिजनका म्याग्दी संवाददाता तथा बेनी अनलाइनका सञ्चालक हरिकृष्ण गौतमलाई प्रशंसापत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो ।
मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, वडा अध्यक्ष धनबहादुर खाती, कटेजका सञ्चालक अशोक शर्मा लगायतले पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए । कृषिमा आधारित पर्यटन र होटल व्यवसाय गर्ने उद्देश्यले तीन वर्षअघि स्थापित उक्त कटेजले प्रत्येक वार्षिकोत्सवको अवसरमा गत वर्षदेखि एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । उक्त पुरस्कार गतवर्ष कान्तिपुर दैनिकका म्याग्दी संवाददाता घनश्याम खड्कालाई प्रदान गरिएको थियो ।
प्राकृतिक तातोपानी कुण्ड, टोड्के, गुरिल्ला, धौलागिरी चक्रीय पदमार्ग र ढोरपाटन भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ५० लाख रुपैयाँको लागतमा कटेज सञ्चालन गरिएको छ । उक्त कटेजमा म्याग्दी खोलाको असला र कटेज परिसरमा पालिएका माछा, गौरीया, गुडुरा धानको चामलको भात, प्राङ्गारीक प्रविधिबाट उत्पादन गरिएको तरकारी, लोकल कुखुरा, खसीको परिकारको बिक्रीका साथै होमस्टे सुविधा रहेको छ ।
यसअघि १२ जना क्षमताको होमस्टे सञ्चालन गरेको कटेजले यस वर्षदेखि सभाहल र सुविधायुक्त कोठासहितको डाइनिङ हल बनाएको छ । पुरस्कार वितरण समारोहमा गाउँपालिकाका अध्यक्ष रोकाले स्थानीय कृषि उपजको खपत, बजारीकरण, रोजगारी सिर्जना र ग्रामीण पर्यटन प्रर्वद्धन गर्न कटेजले महत्वपूर्ण योगदान पु¥याएकोमा प्रशंसा गरेका थिए । उनले युवाहरुलाई उद्यमसिलतामा आकर्षित गर्ने नीति लिएको बताउँदै स्वदेशमै रहेर सम्मानित र मर्यादित व्यवसाय गरेर आम्दानी गर्न सकिने सन्देश केडी कटेजका सञ्चालकले दिएको बताए ।
मंगला गाउँ कार्यपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष खातीले गाउँपालिकाले पनि पत्रकारिता क्षेत्रको प्रर्वद्धन र विकासका लागि पहल गर्ने बताए । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्य, पशु सेवा शाखाका प्रमुख दिर्घबहादुर खड्का, सिमलचौरका अगुवा गणेशबहादुर बानियाँले मन्तव्य राखेको कार्यक्रम कटेजका सञ्चालक अशोक शर्माको अध्यक्षता, व्यवस्थापक जिवन शर्माको स्वागत र तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।