
काठमाडौँ । विकासका नाममा गाउँ पुगेका सडकले प्रदूषण बढाएका छन् । स्थलमार्ग हुँदै गाउँ पुगेका प्लास्टिकका झोला र प्लास्टिकजन्य सामानका खोलले गाउँलाई बिस्तारै कुरूप बनाउन थालेका छन् । जनप्रतिनिधिले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न अचेल गाउँगाउँमा डोजर परिचालन भएका छन् । जिल्लाका अधिकांश स्थानीय तहका वडामा कच्ची सडक पुगिसकेका छन् । सडक नपुगेका वडामा पनि चालू आर्थिक वर्षभित्रै पु-याउने लक्ष्य जनप्रतिनिधिले लिएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सडकबाट निस्केको धुलोले गाउँमा लगाएको अन्नबाली, तरकारी खेती र फलफूलका बगैँचा छोपिएका छन् । डाले तथा भुइँ घाँसमा समेत धुलोले असर पारेको किसानले गुनासो गरे । साथै, यात्रुले प्रयोग गरेका पानीका बोतल, चाउचाउलगायत प्लास्टिकका खोल र रक्सीका बोतल जतासुकै फुटाएका कारण समस्या भएको उमाकुण्ड गाउँपालिका–१ का रामचन्द्र विकले बताए । उनका अनुसार गुम्देल जिल्लाको सबैभन्दा दुर्गम गाउँ हो । गुम्देलमा समेत अहिले सडकजन्य प्रदूषणको असर परिरहेको उनको भनाइ छ । यस विषयमा जनप्रतिनिधि र सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उनले बताए ।
गुम्देलमा मात्र होइन, यस्तो समस्याले जिल्लाका सबैजसो क्षेत्र जेलिएका छन् । अधिकांश स्थानका होटेलबाहिर रक्सीका खाली बोतलका थुप्रा देखिन्छन् । फुटेका सिसाका बोतलले कहिलेकाहीँ दुर्घटनासमेत निम्त्याउने गरेको सुनारपानीका हीरा पुरीले बताए । यो समस्या जिल्लाको बजार क्षेत्र मन्थली, रामेछाप, खिम्ती, साँघुटारमा अझै बढी छ ।