
लमजुङ । भूकम्पपछि पुनर्निर्माण भएका लमजुङका अधिकांश ग्रामीण बस्तीका घर जस्तापाताका छानाले रंगिएका छन् । भूकम्पअघि खरले छाएका घरका ठाउँ रंगीन जस्तापाताले लिएका छन् । झट्ट हेर्दा ग्रामीण बस्तीको मुहार फेरिएजस्तो देखिए पनि स्थानीयको आर्थिक अवस्थामा भने खासै परिवर्तन भएको छैन ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – दुधपोखरी गाउँपालिका–२ का अध्यक्ष गोविन्द दवाडीका अनुसार पुनर्निर्माणमा संलग्न प्राविधिकले घरको छाना हलुका बनाउन जोड दिँदा पनि यो अवस्था आएको हो । प्राविधिकहरूले ढुंगा र टायलको छाना हाल्दा घरको नक्सा पास नगर्ने भएकाले अधिकांशले जस्तापाता रोजेको उनले बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदानमा बनेका सबैजसो घरका छाना रंगीन बनेको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बताए । भूकम्पपछि गाउँमा बनेका सबै घर एकैनासका छन् । अधिकांशका दुईकोठे छन् ।