काठमाडौँ, १२ कात्तिक – गणतन्त्र नेपालका दोस्रो तथा मुलुकका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको एक वर्ष पूरा भएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सो पदमा रहेर खेलेको भूमिका र राष्ट्रपतीय संस्थाको संस्थागत विकासमा वर्तमान राष्ट्रपति भण्डारीले निरन्तरता दिएकी छन् । उनले गत कात्तिक १३ मा पदभार सम्हालेकी हुन् ।
संविधानले राष्ट्रपतिलाई संवैधानिक मानेको छ भने संविधानको अभिभावक र रक्षकका रूपमा पनि सो पदलाई लिइन्छ । राष्ट्रपतिले गर्ने निर्णय वा काम मन्त्रिपरिषद्को सिफारिसमा हुने भएकाले सो पदलाई विवादमुक्त र गरिमायुक्त बनाउन सरकार, दल र सबै पक्षले प्रयत्न गर्दै आएका छन् ।
राष्ट्रपति भण्डारी महिला भएकाले पनि उनी मुलुकको पहिलो राष्ट्रपति हुँदा उनको थप चर्चा भयो । वाम–लोकतान्त्रिक आन्दोलनमा उनले विगतमा दिएको योगदान र राजनीतिक दलमा रहेर बोकेको अनुभवले पनि उनलाई सो जिम्मेवारी सम्हाल्न मद्दत गरेको हुनसक्छ । ‘जनताको बहुदलीय जनवाद’का प्रणेता जननेता मदन भण्डारीकी धर्मपत्नी भएकाले उनलाई राष्ट्रपति हुनुअघि नै आदर्शवान् र सङ्घर्षवान् नेत्रीका रूपमा लिइन्थ्यो ।
नयाँ संविधानको व्यवस्थाबमोजिम व्यवस्थापिका–संसद्मा विसं २०७२ कात्तिक ११ गते भएको राष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेकी भण्डारी ३२७ मतसहित निर्वाचित भएकी थिइन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले २१४ मत प्राप्त गरे ।
विसं २०७२ असोज ३ मा संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा निर्वाचन भएको थियो । प्रमुख दलबीच सहमतिमा आएको संविधानपछिको सत्ता गठबन्धनमा भने सहमति हुन नसक्दा राष्ट्रपतिको निर्वाचनमा पनि मतदान भएको थियो, जहाँ संसद्को ठूलो दल काँग्रेस प्रमुख प्रतिपक्षी थियो ।
राष्ट्रपति भण्डारीले यसबीचमा दुई प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालाई शपथ गराइसकेककी छन् भने संसद्बाट पारित विभिन्न विधेयकमा संविधानबमोजिम प्रमाणीकरण गरेकी छन् ।
दलबीचको सहमतिको यात्रा, संविधानको कार्यान्वयन, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध, मुलुकको आर्थिक–सामाजिक विकास, प्राकृतिक विपद्जस्ता विषयमा उनले चासो दिँदै आएकी छन् । राजनीतिमा महिला सहभागिता र जागरण ल्याउन तथा संविधानमा हरेक निकायमा ३३ प्रतिशत महिला आरक्षणका लागि निरन्तर अगुवाइ गर्नुभएका उनले राष्ट्रप्रमुख भएपछि पनि सो भावनालाई पछ्याइरहेको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताए ।
स्वदेशभित्रका करिब १५० सार्वजनिक कार्यक्रममा सहभागी भई राष्ट्रपति भण्डारीले विशेषतः समाजमा पछाडि पारिएका समुदायका कार्यक्रम र समाजसेवालाई प्राथमिकता दिँदै आउनुभएको छ । यस्तै विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय भ्रमणमा पनि उनी जाने गरेकी छन् । गोरखापत्र
कस्तो रह्यो राष्ट्रपति विद्यादेवी भण्डारीको एक वर्ष
Previous Articleदेउवाले दिल्लीमा प्रधानमन्त्री मोदीलाई भेट्ने
Next Article आज काग तिहार मनाइँदै