बुधबार रातीदेखि परेको निरन्तरको वर्षा र हिमपातका कारण स्थानीयको जनजीवन तथा दैनिकी प्रभावित भएको छ । उच्च हिमाली क्षेत्रमा परेको भारी हिमपात र पहाडी क्षेत्रको जिल्लामा परेको वर्षाका कारण सर्वसाधारणको दैनिकीलाई प्रभावित बनाएको हो ।
मुस्ताङमा दुई साता अघिको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएको छ भने म्याग्दी र पर्वत जिल्लामा बुधबार रातिदेखिको झरीले जनजीवन प्रभावित हुनुको साथै ग्रामीण क्षेत्रमा यातायात सेवा प्रभावित बनेको छ । मुस्ताङको मुक्तिनाथ, लोमान्थाङ, छोसेर, घमी, समर लगायतका क्षेत्रमा यही माघको १२ र १३ गते परेको हिउ पग्लिसकेको थिएन ।
बिहीबार बिहानैदेखि पुनः हिउँ पर्न थालेपछि अत्यधिक मात्रामा चिसो बढेको महशुस भएको छ । हिमपात र चिसोका कारण घरबाहिर निस्कन सक्ने अवस्था नरहेको घरपझोङ गाउँपालिकाका अध्यक्ष आइतलाल थकालीले जानकारी दिएका छन् । हिमपातका कारण भेडा, च्याङग्रा, चौरीगाईलगायत बस्तुभाउलाई आहाराको समस्या हुन थालेको बताइएको छ । हिमपात र खराम मौसमका कारण पोखरा–जोमसोम हवाई उठान समेत अवरुद्ध भएको छ ।
चिसोका कारण पर्यटकीयस्थलहरु सुनसान भएको र स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ । जोमसोमदेखि उपल्लो मुस्ताङमा गाडीहरु नछुटेपनि बेनी–जोमसोम सडकमा दिउँसोसम्म सवारीसाधन सञ्चालन भैरहेका छन् । मुस्ताङ र म्याग्दीमा यसपाली चौथोपटक हिमपात भएको छ । म्याग्दीको धौलागिरी गाउँपालिका–१, दुर्गम गूर्जा गाउँमा भारी हिमपात भएको गाउँपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले बताए । उनका अनुसार हिमपापछि अहिले गूर्जामा सञ्चार सेवा अवरुद्ध भएको छ । गूर्जा म्याग्दी सदरमुकाम बेनीदेखि २६ कोष टाढा दुर्गम तथा विकट क्षेत्रमा पर्दछ । गाउँपालिकाको अन्य वडाहरुमा पनि हिमपात भएको छ ।
त्यस्तै जिल्लाको उत्तरी क्षेत्र अन्तर्गत अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीयस्थल घोरेपानी, पुनहिल, महरेडाँडा, खोप्रालेक लगायतका उच्च क्षेत्रहरुमा हिमपातका साथै भारी वर्षा भैरहेको छ । महरेडाँडा, पुनहिल, घोरेपानीलगायत क्षेत्रका डाँडाकाँडाहरुमा हिमपात भएको हुँदा रातभर पानी परेको खण्डमा तल गाउँमा पनि हिमपात हुनेसक्ने राम्चेबाट प्रतिक्षा पूर्जाले टेलिफोनमा जानकारी दिएकी छिन् । वर्षा र हिमपातका कारणले गर्दा स्थानीयको दैनिकी नराम्रोसँग प्रभावित भएको छ ।
यसैगरी पर्वतमा झरीका कारण अत्यधिक चिसो बढेको छ । पर्वतको कुस्माबाट दक्षिण पर्वतको हुवास, रानीपानी, लुंखु, कार्किनेटा लगायतका क्षेत्रमा चल्ने बस सेवा ठप्प भएको छ । छिटफुट रुपमा जीप भने चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले बताए । पातिचौर र डिमुवाबाट देउपुर, भूकदेउराली, बाजुङ, क्याङ, राम्जा, चित्रे चल्ने यातयातका सबै साधन ठप्प भएका छन् । मिलनचोकबाट लेकफाँट, शालिजा, धाइरिङ जाने जीपबाहेक अन्य सवारीसाधन चल्न सकेका छैन । एक दुई दिन वर्षा नरोकिएमा कच्ची सडकमा जीप समेत चल्न नसक्ने अवस्था आएको छ ।
Previous Articleबालगृहको भवन निर्माणमा सहयोगको आह्वान
Next Article युवालाई परिचालन गर्ने कि !