नेपाल बाल सङ्गठनमार्फत सञ्चालित म्याग्दी बालगृहको भवन निर्माणका लागि सहयोगको आह्वान गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको बालगृहको क्षमता वृद्धि गर्नका लागि आर्थिक सहयोगको अपिल गरिएको बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो ।
बालबालिकाको सङ्ख्या बढ्ढै गएको, पुरानो भवन जिर्ण भएको तथा पर्याप्त बालबालिका राख्न सक्ने क्षमता नभएकाले आवास गृहको क्षमता वृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको नेपाल बाल सङ्गठनका जिल्ला सभापति नेत्रबहादुर महतले बताए । उनले पुरानो भवनमा १४ जना मात्रै बालबालिका राख्न सकिने क्षमता भएकाले भवनको क्षमता बढाउन ५५ लाख रुपैयाँ बजेटमा नयाँ भवन बनाउने गरी लागत स्टमेट तयार गरिएको बताएका छन् ।
१४ जना अट्ने क्षमताको बालगृहमा हाल ७ जना छात्रा र ५ जना छात्र गरी कुल १२ जना बालबालिकाहरु रहेको हुँदा बालबालिका आउने क्रम जारी रहेकाले आवास गृहको क्षमता वृद्धि गर्न लागिएको हो । १४ जनाको क्षमतालाई बढाएर कम्तीमा पनि ३० जना राख्न मिल्ने क्षमताको भवन निर्माणको तयारीमा संस्था जुटेको हुँदा सहयोगको आवश्यकता परेको सभापति महतले जानकारी दिए । दुईतले भवन निर्माणका लागि विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा समेत प्रवासीहरुबाट आर्थिक सहयोगको आग्रह गरिएको उनको भनाइ छ ।
भवन साँघुरो हुँदा बालबालिकाहरुलाई समस्या भएको बताइएको छ । कार्यक्रममा बाल सङ्गठनका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मासिक रुपमा एकलाख रुपैयाँभन्दा बढी खर्च हुनेहुँदा बालगृह सञ्चालनका लागि अक्षयकोषबाट आउने व्याज, विभिन्न व्यक्ति तथा संघसंस्थाबाट प्राप्त आर्थिक सहयोगबाट व्यवस्थापन गर्ने गरिएको जनाइएको छ । हाल बालगृहको विभिन्न बैंकमा कुल ५२ लाख २० हजार छ सय ६४ रुपैयाँ कोष रहेको छ ।
Previous Articleरेडियो दिदीबहिनीको आयोजनामा रक्तदान
Next Article वर्षा र हिमपातले जनजीवन प्रभावित