न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुले बागलुङको बलेवाका दृष्टिविहिन विद्यार्थीहरुलाई खाजा वितरण गरेका छन् । विद्यालयको कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थीहरुले जनताधन मावि बलेवा बागलुङमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुलाई बिस्कुट र फलफुल वितरण गरेका हुन् ।
वेष्ट पोइन्टबाट अध्ययन अवलोकन भ्रमणमा गएका कक्षा ५ का १ सय २४ विद्यार्थी र ५ जना शिक्षकहरुले आफ्नो खाजा खर्च कटाएर फलफुल तथा खाजा वितरण गरेका हुन् । जनताधन माविमा एकीकृत शिक्षा प्रणाली अनुसार २४ जना दृष्टिविहिन विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।
वेष्ट पोइन्टले माघ महिनालाई आफ्नो शैक्षिक क्यालेण्डरमा अध्ययन अवलोकन तथा भ्रमण महिनाको रुपमा अबलोकन गराउने गरेको छ । उनीहरुले बलेवा एअरपोर्ट अवलोकन गर्ने क्रममा जनताधन माविमा पुगेर आफू जस्तै साथीहरुलाई थोरै भए पनि सहयोग गरेको बताए । साथै ब्रेललिपि भनेको के हो, र कसरी पढाइन्छ, भन्ने विषयमा समेत जानकारी प्राप्त गरेका छन् ।
कक्षाकोठामा मात्रै सीमित राखेर गरिने शिक्षण विधिभन्दा समाजसँग जोडेर लैजाने शिक्षा जीवनपयोगी हुने र विद्यार्थीमा सामाजिक मूल्यमान्यताको विकास हुनेहुँदा यसले कक्षागत सिकाइमा सहजता ल्याउने गर्दछ । विद्यार्थीले घरमा, समुदायमा सिकेको कुरा विद्यालयमा र विद्यालयमा सिकेको कुरा परिवार र समुदायमा विद्यालयमा अनुसरण गर्ने हुँदा सिकाइलाई घर परिवार समाजसँग समायोजन गरेर लैजानुपर्ने आजको आवश्यकता रहेको शिक्षक कृष्ण जिसीले बताएको वेष्ट पोइन्ट मिडिया हवले जनाएको छ ।
Previous Articleमंगलाको खेलकुद स्थगित
Next Article रेडियो दिदीबहिनीको आयोजनामा रक्तदान