फिक्कल गाउँपालिका १ महादेव डाँडाबाट यात्रु लिएर आउँदै गरेको बा १५ च ९४२२ नम्बरको डबल क्याब भएको बोलेरो पोखरी ८ चण्डि भञ्ज्याङ (फिक्कल गाउँपालिका २) मा बिहीबार दुर्घटनाहुँदा पाँच जनाको मृत्यु भएको छ ।
चारजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा खुर्कोटमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु फिक्कल गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउन आएका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, मृतकहरुमा फिक्कल गाउँपालिका २ की करिव ५५ वर्षीया तिल माया विक, ६० वर्षीय कुन्तमान तामाङ, ४५ वर्षीया लक्ष्मी विक, २५ वर्षीया अनिता महत र फिक्कल ३ चनौटेकी ३५ वर्षीय शान्ति माया श्रेष्ठको मृत्यु भएको छ ।
घट्ना स्थलमा रहनुभएका फिक्कल प्रहरी चौकीका हवल्दार सीताराम माझीका अनुसार, गम्भीर घाइते हुनेहरुमा फिक्कल २ चण्डि भञ्ज्याङका ४३ वर्षीय दिपक कुमार सुनुवार र सोही ठाउँका बोलेरो चालक २६ वर्षीय मानबहादुर सुनुवार रहेका छन् । यस्तै, तिनपाटनका २६ वर्षीय गणेश घिसिङ, फिक्कल २ का ३५ वर्षीय जय प्रसाद न्यौपाने, ६६ वर्षीय गंगा माया विक, ६५ वर्षीया चन्द्र माया विक, फिक्कल ३ का ३८ वर्षीय दिपक श्रेष्ठ, फिक्कल १ का ४५ वर्षीय राजेश सुनुवार र ६० वर्षीय नन्दलाल विक घाइते भएका छन् । स्थानीय शिक्षक टेक बहादुरका अनुसार, बोलेरोमा १२ जना यात्रु रहेका थिए । घाइतेहरुको स्थानीय बरमथुम्की अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । बाेलेराे सडकबाट दुइ सय मिटर तल खसेर सडकमा नै अड्किएकाे थियाे । चालकले राेकेर पिसाव फेर्न झरेकाे बेला गाडी एक्कासी गुडेर दुर्घटना भएकाे स्थानीयले बताएका छन् ।
सन्तोष कटुवाल