एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । संयुक्त अरव इमिरेट्स (यूएई) मा शुक्रबार साँझ भएको फाइनलमा कतारले एसियाली पावर हाउस जापानलाई ३–१ गोलले हराउँदै उपाधि जितेको हो ।
सन् २०२२ को फिफा विश्वकप आयोजक कतारले पहिलो पटक एसियन कप उपाधि चमेको हो । कतारको जितमा अल्मोज अलीले १२ औं मिनेटमा खाता खोलेका थिए । २७ औं मिनेटमा अब्दुल्लाजिज हटेमले गोल गर्दै कतारको अग्रता दोब्बर बनाए ।
खेलको सुरुवातदेखि नै कतारको दबाब झेलेको जापानको पहिलो हाफमा गोल फर्काउने प्रयास सफल हुन सकेन । जापानले ६९ औं मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । जापानका ताकुमी मिनामिनोले गोल गरेका थिए ।
त्यसपछि कतारले ८३ औं मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गरेको थियो । पेनाल्टीलाई अक्रम अफिफले सदुपयोग गरेका थिए । दोस्रो हाफमा सुधारिएको खेल खेलेको जापानले अन्ततः हार खेप्यो । कतार आयोजक यूएईलाई हराएर फाइनलमा पुगेको थियो । जापानले इरानलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।