प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु परास्त भएको बताएका छन् ।
शहीद दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राणा शासन विरुद्ध विंसं १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै उनीहरुको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गरेका छन् ।
“पुस्तौं देखि अनवरत् रुपमा लोकतन्त्रका निम्ति संघर्ष गर्दै नेपाली समाज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् । “राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौं । त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ ।”
दशकौं अघि क्रान्तीवीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तीको सपना अहिले आएर साकार भएकोले समाज रुपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा मात्रै शहीदहरुप्रति सच्चा श्रद्धान्जली व्यक्त गरेको ठहरिने ओलीले बताएका छन् ।