भारतको मध्य प्रदेशमा एक पतिले पत्नीको फेसबूकमोहका कारण दुःखित भएर अदालत गुहारेका छन् ।
पतिले पत्नी समयमा खान नदिएको र दिनभरि सेल्फी खिचेर फेसबूकमा अप्लोड गरिरहेको आरोप लगाएका छन् ।
फ्यामिली कोर्टले परामर्शका लागि पति पत्नी दुवैलाई बोलाएपछि यो कुराको खुलासा भएको हो ।
फ्यामिली कोर्टकी परामर्शदात्री संगीता राजानीले पतिसँग स्मार्टफोन अनि पत्नीसँग साधारण फोन भएका कारण झगडा शुरू भएको बताइन् । पत्नीको आरोप थियो — पति आफू चाहिँ स्मार्टफोन चलाउँछ तर उनलाई सामान्य फोन मात्र चलाउन दिन्छ । माइतमा कुरा गर्न पनि दिँदैन ।
यसमा पतिले स्पष्टीकरण दिँदै भने, ‘पत्नी माइतबाट स्मार्टफोन लिएर आएकी थिइन् र जतिखेर पनि सेल्फी, ह्वाट्सयाप र फेसबूकमा झुण्डिरहन्थिन् । समयमा खान पनि दिँदैनथिइन् । त्यसैले मैले स्मार्टफोन खोसेको हुँ ।’
दुवैको कुरा सुनेपछि अदालतले उनीहरूको सम्झायो र सम्झौता गरायो ।
कोर्टले के आदेश दियो भने पत्नीले घरको सबै काम सकेपछि मात्र मोबाइल छुन पाउँछिन् । अनि पतिलाई चाहिँ के आदेश दियो भने बिहेको वर्षगाँठमा पत्नीलाई स्मार्टफोन किनेर दिनुपर्नेछ ।
जनवरी ११ मा पतिले पत्नीलाई स्मार्टफोन किनेर दिए र त्यसको भरपाइ अदालतमा बुझाए ।
अदालतमा पत्नीले अनेकौं शर्त राखिन् : महिनाको दुईवटा फिल्म देखाउनुपर्नेछ, महिनाको एकपटक होटलमा खाना खुवाउनुपर्नेछ, वर्षको एकपटक शहरबाहिर घुमाउन लग्नुपर्नेछ, माइतका मानिससँग कुरा गर्न छुट दिनुपर्नेछ, कहिले पनि गाली गर्न पाइनेछैन ।
यी सबै शर्त पतिले माने ।