युएईविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले १ सय ४५ रनको सानदार जित निकालेको छ ।
नेपाली बलरहरु सोमपाल कामी र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको सहयोगमा नेपालले २४२ रनको विशाल लक्ष्य रक्षा गर्न सफल भयो । सोमपाल कामीले ५ विकेट लिए भने सन्दिपले चार विकेट लिएका थिए । यो जितसँगै नेपालले तीन खेलको श्रृङ्खला १–१ को बराबरीमा ल्याएको छ ।
टस जितेर ब्याटिङ गर्दा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो । यो योगफल नेपाली क्रिकेट टिमको सबैभन्दा ठूलो एक दिवसीय योगफल हो ।
पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझेदारी गर्दै टिमलाई बलियो शुरुवात दिलाएका थिए । मल्ल ब्यक्तिगत ४४ रन बनाउनुभन्दा अघि विनोद भण्डारी २१ रन बनाउँदै आउट भए । त्यसपछि क्रिजमा आएका पारस खड्का, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले भने राम्रो खेल्न सकेनन् ।
पारसले २१ रन बनाए भने दिपेन्द्रले १० र पवनले ८ रन जोडे । त्यसपछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलले नेपालको योगफलमा उत्कृष्ट योगदान गरे । उनीहरुले ८२ रनको साझेदारी एक दिवसीय क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।
आरिफ शेख २९ रन बनाएर आउट हुँदा नेपालले १९५ रन बनाएको थियो ।
त्यसपछि रोहित कुमार पौडेलले करियरकै पहिलो एक दिवसीय अर्धशतक बनाए । रोहितले ५५ रनको योगदान दिएर आउट भए । त्यसपछि करण केसीले ११ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै १८ रन बनाए । अन्तिममा सन्दिप लामिछानेले पनि १० बलमा १४ रन जोडे ।
२ सय ४३ रनको लक्ष्य पछ्याएको युएईलाई नेपालले १९ ओभर ३ बलमा ९७ रनमा प्याक ग¥यो । युएईका लागि मोहम्मद उश्मानले सर्वाधिक २६ रनको योगदान दिए । अन्य ब्याट्सम्यान नेपाली बलरको दबाबमा परेका थिए ।
नेपालाई जित दिलाउन पाँच विकेट लिएका सोमपाल कामी प्लेयर अफ द म्याच भए । सन्दिप लामिछानेले पनि १५औं ओभरमा तीन विकेट लिएका थिए ।
पहिलो खेलमा ११३ रनमा अलआउट भएको नेपाल ३ विकेटले पराजय भएको र शनिबारको खेल १४५ रनले जिते सँगै नेपाल र युएई बीचको तीन खेलको सिरिज १–१ बराबरीमा रहेको छ । तेस्रो तथा निर्णायक एक दिवसीय खेल सोमबार हुनेछ ।