
आजको नयाँ पत्रिका दैनिकमा खबर छ–
प्रहरीका विवादास्पद इन्काउन्टरलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत साथ दिँदै गएको छ । प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा आयोगले चासो नदिई मौन बसेर ‘सदर’ गर्न थालेको हो । इन्काउन्टर घटनाको छानबिनमा आयोग गम्भीर नहुँदा सामान्य घटनामा पनि अभियुक्तमाथि प्रहरीले गोली चलाउन थालेको छ । इन्काउन्टरका नाममा कतिपय अवस्थामा प्रहरीले पक्राउ गरेर अभियुक्तलाई गोली हानेको छ । त्यससम्बन्धी प्रस्ट प्रमाण भेटिँदासमेत राष्ट्रिय मानवअधिकार आयोग मौन बस्न थालेपछि प्रहरीले मुठभेडका नाममा पक्राउ गरेर गोली हान्ने घटना बढाउँदै लगेको हो ।
प्रहरीको आलोचना
बालक निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङको गत २१ साउनमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । अभियुक्तसँगै प्रमाण नष्ट गरेको भन्दै जुन घटनाले प्रहरीको व्यापक आलोचना भयो । अभियुक्तलाई पक्राउ गरेको छिमेकीले नै देखेका थिए र प्रहरीले उनीहरूले प्रहरीमाथि जंगलमा गोली चलाउन खोजेको बतायो । मुठभेडको कुनै संकेत नभएको आयोगको प्रारम्भिक छानबिनमा खुलेको थियो ।
यसअघि राजधानीमा भएका अन्य दुई इन्काउन्टर घटनामा पनि आयोगले अप्रत्यक्ष रूपमा प्रहरीलाई साथ दिएको थियो । गुन्डागर्दीमा संलग्न आरोपमा दिनेश अधिकारी चरी र कुमार घैँटे प्रहरीको गोलीबाट मारिएको घटनामा आयोगले अहिलेसम्म छानबिन टुंग्याएको छैन । घैँटेले त आफूलाई प्रहरीले हत्या गर्न खोजेको भन्दै पहिले नै आयोगमा उजुरी दिएका थिए । चरीको इन्काउन्टर भनिए पनि अन्यत्र हत्या गरेर फालिएको प्रारम्भिक छानबिनमा खुलेको थियो ।
यी सबै घटनाको छानबिन रिपोर्ट प्राप्त नभइसकेको मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी बताउँछिन् । प्रहरीबाट भइरहेको इन्काउन्टरको प्रवृत्ति गलत भएको उनको भनाइ छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी भने तराईमा केही समूह सक्रिय हुन खोजेपछि उनीहरूलाई निस्तेज बनाउन प्रहरी आक्रामक बनेको बताउँछन् । प्रहरीले पेसेबर अपराधीविरुद्ध ‘सुट आउट’को रणनीति लिएको बताएको छ । तर, आपराधिक पृष्ठभूमि नै नभएको र सजिलै पक्राउ गर्न सक्ने अवस्थामा पनि गोली चलाउने गरेको छ । काम देखाउने होडबाजीमा यसरी प्रहरी अधिकारीहरूले ‘इन्काउन्टर’ रणनीति लिएका छन् । यसले निर्दाेषसमेत प्रहरीबाट पीडित हुने जोखिम बढेको छ । मानवअधिकार आयोगकी अध्यक्ष अन्सारी भन्छिन्,
‘प्रजातान्त्रिक समाजमा यो प्रहरीको यो प्रवृत्ति एकदमै गलत छ ।’
छिमेकी मुलुक भारतमा पनि अन्र्डरवल्र्ड सिध्याउने नाममा जथाभावी गोली हान्ने विकृति बढेको थियो । इन्काउन्टरका नाममा गोली हान्ने केही प्रहरी अधिकारीहरूविरुद्ध नै मुद्दा दायर भई कैद सजाय भएपछि जथाभावी इन्काउन्टर न्यून भएको थियो । अपराधीलाई ‘टाउको उठाउन नदिने’ उद्देश्यअनुसार यसरी इन्काउन्टरको रणनीति लिएको छ । तर, अपराध नियन्त्रण गर्ने नाममा यो सामान्य अवस्थामा पनि गोली हान्ने चर्चा कमाउने प्रवृत्तिसमेत बढ्न थालेको छ । प्रहरी अधिकारीबीच काम देखाउने होडबाजीमा निर्दाेष व्यक्तिहरूमाथि प्रहरी गोलीको निसाना पर्ने जोखिम बढेको छ ।
प्रहरी गलत बाटोमा छ : मोहना अन्सारी
सदस्य, राष्ट्रिय मानवअधिकार आयोग
प्रहरीमा पछिल्लो समय जुन इन्काउन्टरको प्रवृत्ति सुरु भएको छ, यो एकदमै गलत छ । यसमा हामीले नियमित रूपमा भन्दै पनि आएका छौँ । संविधानले नै नागरिकको जिउ–ज्यान सुरक्षाको अधिकारको ग्यारेन्टी गरेको छ । जस्तोसुकै अपराधमा संलग्न व्यक्ति भए पनि उनीहरूलाई पक्राउ गरेर कानुनअनुसार कारबाही गर्नुपर्छ । पछिल्ला घटनाहरू पनि आयोगले नजिकबाट हेरिरहेको छ । विगतमा भएका घटनाको छानबिनका लागि गठन भएका टिमबाट रिपोर्ट प्राप्त भइसकेका छैनन्, रिपोर्ट प्राप्त हुनेबित्तिकै हामी सार्वजनिक गरेर कारबाही प्रक्रियामा जानेछौँ ।
प्रहरी आक्रामक भएकै हो : एसएसपी उत्तमराज सुवेदी
प्रहरी प्रवक्ता
तराईमा केही समूह सक्रिय हुन थालेपछि उनीहरूलाई निस्तेज बनाउन प्रहरी केही आक्रामक भएकै हो । केही दिनअघि सप्तरीमा प्रहरीमाथि नै गोली चल्यो । ती व्यक्तिलाई खोज्ने क्रममा बुधबार बिहान मुठभेड भयो । अन्य जिल्लामा केही व्यक्ति सक्रिय हुन थालेपछि प्रहरीले उनीहरूका आपराधिक सञ्जाल ध्वस्त बनाउने अभियान अघि बढाएको हो । चर्चा र काम देखाउन होइन, समाजलाई शान्त र सुरक्षित बनाउन यो रणनीति लिइएको हो ।
कहिले कहाँ भयो गोली प्रहार ?
गत २१ मंसिरमा अपराध महाशाखाले डकैतीका फरार अभियुक्त राजन लिम्बूमाथि गोली प्रहार गरेको थियो । भक्तपुरको इन्काउन्टर घटनामा पनि अपराध महाशाखा र परिसरबीच विवाद भएको थियो । महाशाखा र परिसरबीच काम देखाउने होडबाजीमा पटक–पटक समस्या भएको छ ।
बुधबार बिहान सप्तरीको रूपनीमा प्रहरी गोलीबाट दीपेन्द्र चौधरी मारिए । प्रहरीले मुठभेड भने पनि घटनास्थलमा त्यस्तो कुनै संकेत भेटिएको छैन । यद्यपि, चौधरी मोस्ट वान्टेड व्यक्ति हुन् । गत साता मात्र उनले आतंक मच्चाउन प्रहरीमाथि नै गोली हानेका थिए । सशस्त्र समूहलाई ‘सन्देश’ दिन सो इन्काउन्टर भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
२९ पुसमा रूपन्देहीमा प्रहरी गोलीबाट केदार सहनी मारिएका थिए । सिद्धार्थनगर नगरपालिका–४ मा प्रहरीसँग उनको दोहोरो भिडन्त भएको थियो । मोटरसाइकलमा रहेका सहनीले प्रहरीमाथि नै गोली हानेपछि जवाफी फायरिङ गर्दा उनको मृत्यु भएको रूपन्देहीका एसपी हृदय थापा बताउँछन् । सो घटनाको मानवअधिकार आयोगले छानबिन थालेको छ ।
गत ४ माघमा जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले हतियार ओसारपसारमा संलग्न प्रमोद यादवलाई गोली हानी नियन्त्रणमा लिएको छ । जिल्लाको सुकसैनामा उनलाई पक्राउ गर्न खोज्ने क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाएको थियो । २ माघमा बाँकेको कोहलपुरमा पनि प्रहरीले एक फरार अभियुक्तलाई गोली हानेर नियन्त्रणमा लिएको थियो । केही दिनअघि दीपक सिंहको घाँटी रेटी हत्या गरेको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । उनका खुट्टामा गोली लागेको थियो ।
गत वर्ष मनोज पुन र सोमबहादुर आले पनि रूपन्देहीमा प्रहरीको गोलीबाट मारिएका थिए । उनीहरूलाई भारतबाट पक्राउ गरेर ल्याई गोली हानिएको उनका परिवारले दाबी गरी मानवअधिकार आयोगमा उजुरी गरेका थिए ।
१० दिनमा पाँचमाथि गोली प्रहार, दुईको मृत्यु
पछिल्लो १० दिनमा प्रहरीको गोलीबाट दुईजनाको मृत्यु भएको छ । अन्य तीनजनालाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । मंगलबार दिउँसो गोंगबुको एक गेस्ट हाउसमा काभ्रेका अविलास लामालाई गोली हान्यो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गोली हानेको हो ।
लामा पेस्तोलसहित रहेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको परिसरको प्रेस विज्ञप्तिमा बताइएको छ । तर, लामाले भने आफूलाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको बताएका छन् ।
लामा माओवादी पूर्वलडाकु हुन् । उनले आफूमाथि प्रहरीले विनाकारण गोली हानेको भन्दै गृह मन्त्रालयमा उजुरी गरेका छन् । काठमाडौं परिसर र अपराध महाशाखाबीच काम देखाउने होडबाजीमा गोली प्रहार भएको स्रोत बताउँछ ।