मञ्जुरी लिखत वा मौखिक वा इशारा वा आचरणद्धारा ब्यक्त गरिने कुरा हो । लिखत वा मौखिक अवस्था बाहेक इशार वा आचरणबाट ब्यक्त गरिएको छ भने उक्त मञ्जुरी हो वा होइन भन्ने बारेमा परिस्थिति र अवस्थाबाट यसको निष्कर्ष निकालिन्छ । गुण‚दोष र तथ्यहरुको सम्पूर्ण जानकारीबाट ब्यक्त हुने मञ्जुरी नै वास्तविक मञ्जुरी हो । इशारा तथा आचरणबाट प्रतवादीले ब्यक्त गर्ने काममा पिडित वा मञ्जुरीकर्ताको सकरात्मक भूमिका रहन्छ । आफू चुप बस्नु भन्दा पनि केही न केही काममा सहायता गर्नु वा केही नगरे पनि अवरोध नगर्ने परिस्थिति र अवस्थाको मञ्जुरीलाई आचरणगत मञ्जुरी भनिन्छ । यसैले कुनै पनि मानिसले दिने मञ्जुरी वास्तविक‚शुद्ध‚कानूनी वा सामान्य मञ्जुरी हो वा होइन भन्ने तर्फ सोच्नु पर्ने देखिन्छ । आचरण र इशारालाई पनि कतिपय अवस्थामा संहिताले पनि मञ्जुरीको रुपमा लिने गरेको छ । कुनै पनि विषयमा गुण‚दोष‚प्रकृति‚परिणाम र परिणति समेतको विचार गरी स्वेच्छाले दिइने सहमतीलाई नै मञ्जुरी मान्ने गरेको देखिन्छ । मञ्जुरीमा परिस्थिति‚अवस्था र तथ्य तीन वटा कुराहरु साथै आउने गरेको पाइन्छ । परिस्थितिहरु‚अवस्थाहरु र तथ्यहरुले मञ्जुरी दिएको कुराहरुको मुल्याङ्कन गरी राखेका हुन्छन् । मञ्जुरी नमानिने अवस्थाहरुलाई हेर्दा तथ्यको भ्रममा परी वा कुनै किसिमको हानी नोक्सानी हुने डर‚त्रासमा परी कुनै व्यक्तिले मञ्जुरी दिएको र त्यस्तो मञ्जुरी अनुसार काम गर्ने व्यक्तिलाई त्यस्तो मञ्जुरी त्यसरी दिइएको हो भन्ने थाहा भएमा वा निजले विश्वास गर्नु पर्ने कुनै मनासिव कारण भएमा‚मानसिक अस्वस्थताको कारणले आफूले दिएको मञ्जुरीको गुण‚दोष र परिणाम बुझ्न नसक्ने होस ठेगानमा नरहेका बखत कुनै व्यक्तिले मञ्जुरी दिएमा‚१८ वर्ष ननाघेका बालबालिकाले मञ्जुरी दिएमा र अनुचित प्रभावमा परी मञ्जुरी दिएमा भए गरेका काम सदर हुदैनन ।
वास्तवमा कुनै पनि कामहरु मञ्जुरी लिएर गर्दा छुट्टै अपराध हुने अवस्थामा त्यो काम अपराध नै हुने यो दफाले बताएको छ । मञ्जुरी लिएर काम गर्ने डाक्टरले असल नियतले पर्याप्त सावधानी अपनाई शल्यक्रिया गर्नुपर्नेमा हेलचेक्र्याइँ गरी शरिर चिर्न प्रयोग गर्ने चाक्कु जस्ता उपकरणहरु शरिर भित्रै छाडी घात पारी कुनै अंग भङ्ग भएमा वा मृत्यू नै भएमा उक्त हेलचेक्र्याइँको दायित्वबाट उन्मुक्ति पाउन सक्दैन । यसमा शल्यक्रिया हेलचेक्र्याइँ पूर्वक भएको छुट्टै अपराध हो । महिलाको गर्भ तुहाउन नपाउने मञ्जुरी लिइ गर्भ तुहाइएको भए गर्भ तुहाउने काम आफै कसूर हुने भएको हुँदा त्यहाँ मञ्जुरीले गर्भ तुहाउने कामलाई कसूर कायम गर्न रोक्न छेक्न सक्दैन । मञ्जुरी लिइ गरेको भन्ने पर्दाबाट उन्मुक्ति पाउने अवस्था रहदैन । नेपालमा मानव अङ्ग बिक्री गर्न मनाही रहेको छ । यस्तो कार्यमा मानव अङ्ग विक्रेताको मञ्जुरी गरेको अवस्थामा मानव अङ्ग विक्री गर्ने कुरा पर्दाभित्र पार्न सक्दैन किनकी यो एउटा छुट्टै अपराध हो । रकम लेनदेन गरी मृगौलो बिक्री गरेको अवस्थामा पिडितको मञ्जुरी भए पनि यो काम अपराध हो भन्ने कुरा यस दफाले उजागर गरेको छ । केही निश्चित अवस्थामा मात्र मञ्जुरीको घुम्टोमा प्रतिरक्षा पाइन्छ । कसैको ज्यान लिन वा गम्भिर चोट पु-याउनका लागि गरेको एकअर्काको मञ्जुरी लिएर गरेको कामलाई समाजले स्विकार गर्दैन । दुइ जनाले मञ्जुरी गरी खुकुरी लिई जसले सक्छ उसले मार्ने भनी खुकुरी प्रहारबाट यदी कसैको ज्यान जान्छ भने उसले मञ्जुरीको घुम्टो ओडेर कसूरबाट उन्मुक्ति पाउदैन ।
मञ्जुरी विषेश गरेर जबरजस्ती करणी सम्बन्धी मुद्दामा उठने गरेको पाइन्छ । जबरजस्ती करणीको अपराधमा वयस्क महिलाको मञ्जुरीले करणी लिनुदिनु गरेमा त्यो क्रिया जबजस्ती नभई दुवैको इच्छित सुख प्राप्तिको विषय हुन्छ । अर्को तर्फ केटा साथी र केटी साथी भई भेटघाट‚आमोद-प्रमोदमा रमाउने संस्कृतिले जरो गाडेको छ । दुवै वालिगहरुले राजीखुशी साथ करणी लिनुदिनु गरेपछि अन्य कुरामा बेमेल भई प्रतिशोधको लागि जबरजस्ती करणीमा उजुरी परेको हो वा होइन भन्ने तर्फ अवस्था र परिस्थितिगत तथ्यहरुले नै एकिन गर्ने कुरा हो । यस्तो अवस्थामा दुवैको मञ्जुरीले करणी लिनुदिनु भई बेमेलको कारणले जबरजस्ती करणीमा उजुरी परी मुद्दा दायर हुँदा मञ्जुरीसाथ गरिएको यौनान्दको विषय अपराधमा परिणत हुन्छ । जसले गर्दा उजुरीकर्ता पिडित नभैई उजुरीकर्ताको प्रतिशोधका कारण केटा पिडित बन्न पुग्ने हुँदा कानून कर्मीले यसतर्फ ध्यान दिनुपर्ने जरुरी छ ।
अर्को तर्फ हाम्रो संहिताले १८ बर्ष नपुगेको अवस्थामा दिएको मञ्जुरीलाई मञ्जुरी मानेको छैन । नेपालमा १६ वर्षका ब्यक्तिहरुलाई नागरिकता प्राप्तिको उमेर मानिएको छ । देशको नागरिक भैसकेपछि जग्गाजमिन खरिद बिक्री गर्न सक्ने हैसियत हुन सक्ने संपत्ति सम्बन्धी देवानी विषयमा स्वीकार गरेको अवस्था हो । मानव शरिर प्रविधि‚औषधी एवं पोषणतत्वको विकासका कारण पहिले भन्दा हाल आएर शारिरीक विकास तिब्र हुदै गएको अवस्था स्वास्थ्य क्षेत्रको सूचकाङ्कले देखाएको छ । सरसरती हेर्दा अरु देशले पनि १६ वर्षलाई यौवनताको उमेर मानी यस उमेरमा भए गरेका काम कानून सम्मत हुने गरेको पाइन्छ । हाम्रो देशमा पनि संहिताले १६ वर्षबाट उमेर बढाएर १८ बर्ष बनाएको छ । यस उमेरमा भए गरेका काम मात्र कानून सम्मत हुन्छन भन्ने कुरा उजागर गर्न खोजेको छ । अरु देशहरुमा यौन क्रियाका लागि उमेर घटाउदै गएको देखिन्छ भने हाम्रो देशमा उमेर बढाउदै लगेको देखिन्छ । यसले सहमतीमा भए गरेका यौन जन्य कार्यहरु कानूनी बाध्यताका कारण अपराधिक काम हुने अवस्था सृजना गरेको देखिन्छ ।१६ वर्ष नपुगी विवाह भै मञ्जुरीको सन्दर्भ र यस्तो मञ्जुरीको लागि १८ बर्ष उमेर बढी भएको दृष्टान्त प्रतिवादी सन्तोष लामाको ज.क. मुद्दाबाट देखिन्छ । यसमा लामाले पिडितलाई विवाह गर्ने भनी कोठामा लगि १४ बर्षकी पिडितलाई ललाई फकाई दैनिक पटकपटक यौन शोषण गरेको र १ महिना १० दिन पछि पिडितको बुबाले देखि ज.क.मुद्दा दायर गरेका थिए । यहाँ प्रतिवादीले पिडितलाई स्कुलबाट भगाइ पहिले होटल र पछि कोठामा ल्याइ राखेको छ । डर त्रासमा नपारी आपसी सहमतीमा यौन सम्पर्क गर्दै आएको पनि छु भनी जिकिर लिएका रहेछन । यो मुद्दामा सहमती कस्तो हो र सहमतीमा केके तत्वहरु समावेश हुन्छन भन्ने कुराको व्याख्या नगरे पनि परिस्थितिहरुको बारेमा आँकलन गरिएको छ । मुद्दाको तथ्य र परिस्थितिबाट यो मञ्जुरी पिडितको पक्षमा मात्र छ वा प्रतिवादीको इच्छामा मात्र रहेको छ भन्ने कुरा अदालतले मनन गरेको छ । यहाँ पिडित उजुरी गर्न अदालत तर्फ नलागी उनी घरको काम गर्ने बन जंगल जाने दाउरा ल्याउने काम गरेको देख्दा घरजम तर्फ लागेको देखिन्छ । लोग्ने स्विकार गरेको अवस्था समेत देखा पर्दछ भने प्रतिवादीले पनि आफ्नो श्रीमतीको रुपमा कोठामा ल्याइ राखी दुवैको मञ्जुरीले यौन कर्म गर्दै आएको देखिन्छ । लामो समय सम्मसँगै बसेको अवस्थाले पनि निजहरु विवाह बन्धनमा बाँधिएको कुरालाई समर्थन गरेको देखिन्छ । स्वास्थ्य परिक्षण गर्दा समेत निजले डाक्टरलाई विवाह भएको कुरा बताएकी थिइन । आपसी सहमतीबाट भएको यौन कर्म जवरजस्ती करणी भित्र पर्छ की पर्दैन भन्न प्रश्न पनि मुद्दामा उठेको पाइन्छ । यो पति पत्नीको सम्बन्ध भए पनि कानूनी सम्बन्ध हुन नसक्ने भएकाले जबरजस्ती करणी भित्रको परिभाषामा पर्ने देखियो भनी लोग्नेले स्वास्नीलाई ज.क. गरेको भनी सजाय भएको छ ।