जिल्ला ट्राफिक कार्यालय म्याग्दीको आयोजनामा बिहीबार चालकको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकखण्ड अन्तर्गत बेनी–गलेश्वर खण्डमा म्याग्दीका सवारी चालकहरुको सडकमै रक्तचाप (प्रेसर) र आँखाको परीक्षण गरिएको हो ।
ट्राफिक नियमको पालना गराउन, दुर्घटनाको जोखिम कम गर्न र सवारीचालकलाई स्वास्थ्यप्रति सजग गराउने उद्देश्यसहित बेनी अस्पताल म्याग्दी र आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा चालकहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ । चालकको स्वास्थ्य अवस्थाका कारण पनि दुर्घटना हुन सक्ने भएकाले उनीहरुलाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउन कार्यक्रम गरिएको प्रहरी जवान बैकुण्ठ पौडेलले बताए ।
बेनी–गलेश्वर सडकको जलेश्वरमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षणका क्रममा ७५ जना चालकको आँखाको परीक्षण र प्रेसर चेकजाँच गरिएको उनले जानकारी दिएका छन् । बिच सडकमा नै दुवै तिरबाट आवतजावत गर्ने सवारीसाधनलाई रोकेर सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा ७ जनामा रक्तचाप र २ जनामा न्युन दृष्टीको समस्या भएको पाइएको बेनी अस्पतालले जनाएको छ । समस्या देखिएकालाई औषधी सेवन गर्न र अन्यलाई नियमित व्यायम गर्न, स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरुले सुझाव दिएका छन्भने खानपानमा पनि ध्यान दिन चालकहरुलाई सुझाव दिइएको छ ।
Previous ArticleDistric facing issue of overcrowded price
Next Article नगरपालिका क्षेत्रमा चार सयवटा योजना