
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढी देशको महत्वपूर्ण धरोहर भएको बताएकी छिन् । २५६औँ विजय उत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले नेपालको एकीकरण अभियानलाई साकार पार्न मकवानपुरगढीले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरिन् ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ – मकवानपुरगढी गाउँपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले एकीकरणले देश स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, स्वाधीन राष्ट्रको रूपमा स्थापित भएको तर्क गरिन् । गढीको संरक्षण र सुरक्षा गर्न जरुरी रहेको उनले औँल्याइन् । नेपाल सरकारले गढीको संरक्षणका लागि र यस क्षेत्रमा पर्ने वन संरक्षण गर्न काम गरिरहेको समेत उनले बताइन् ।
पर्यटन विकासमा प्रतिबद्ध छौँ : मुख्यमन्त्री
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले विदेशी सेनालाई नेपालीले पराजित गरेको अवसरमा विजय उत्सव मनाइएको बताए । प्रदेश सरकारले पर्यटन क्षेत्रलाई विशेष महत्व दिएको दाबी गर्दै पौडेलले आफूहरूले यसै वर्ष पर्यटन मार्ग र पदमार्ग निर्माण गर्न बजेट छुट्याएको जानकारीसमेत गराए । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटको कार्यान्वयन गरिरहेको बताउँदै उनले पर्यटकीय क्षेत्र विकास र संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको जिकिर गरे ।